दुई दशकपछि आज भएको स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा ३५ जिल्लाका ३३४ स्थानीय तहमा मतदान सुरू भएको छ । बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म मतदान गर्ने निर्वाचन आयोगले समय तोकेको छ । आज एक महानगर, सात उपमहानगर, १११ नगरपालिका र २१५ गाउँपालिकामा मतदान भइरहेको छ । निर्वाचन तीन प्रदेशका चार हजार ५८१ मतदानस्थलका आठ हजार ३६४ मतदान केन्द्रमा भइरहेको छ ।
चलिरहेको निर्वाचनमा विभिन्न दलका शीर्ष नेताहरूहरुले आ–आफ्ना जिल्लाका मतदान केन्द्रमा गएर मतदान गरेका छन् । जसमा प्रधानमन्त्री शेरबहादुर देउवाले गन्यापधुरा गाउँपालिका – १ को रुवाखोलामा रहेको असिग्राम उच्च मा.वि मदान केन्द्रमा पुगेर मतदान गरेका छन् ।
उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले रोल्पा नगरपालिका – १ विवामरुक स्थित मतदान केन्द्रबाट मतदान गरेका छन् ।
त्यस्तै नेकपा (एमाले)का उपाध्यक्ष भीम रावलले सूदुरपश्चिमको पहाडी जिल्ला अछामको साफँेबगर नगरपालिका – ६ स्थित चन्द्रोदय आधारभूत मा.वि मा रहेको मतदान केन्द्रबाट मतदान गरे ।
सभामुख ओनसरी घर्तीले रोल्पा नगरपालिका – ७ स्थित बालउदय मा.वि. मतदान केन्द्रबाट मतदान गरेकी छिन् ।
पूर्व सूचना तथा सञ्चार मन्त्री शेरधन राईले पनि भोजपुरको आमचोक गाउँपालिका – ३ थिदिङ्खा मतदान केन्द्रबाट मतदान गरे ।
पूर्व प्रधानमन्त्री एवं एमालेका वरिष्ठ नेता झलनाथ खनालले सूर्योदय नगरपालिकाको राष्ट्रिय आधारभूत विद्यालयको मतदान केन्द्रमा पुगी मतदान गरेका छन् ।
नेकमा (एमाले) संसदीय दलका उपनेता तथा पूर्व सभामुख सुवासचन्द्र नेम्वाङ र नेपाली कांग्रेसका नेता कुलबहादुर गुरुङले इलाम नगरपालिका – ७ को मतदान केन्द्रमा मतदान गरे ।