मुल्यवृद्धि विरुद्ध नेविसंघको दोस्रो चरणको आन्दोलन घोषणा

काठमाडौं, असार ३ । सरकारले जेठ १९ गते राति १२ बजेदेखि लागू हुने गरी सरकारले पेट्रोलियम पदार्थमा ३ रुपैयाँका दरले भाउ बढाएपछि नेविसंघ सरकार विरुद्ध आन्दोलित हुँदै आएको छ ।

सरकारले अन्तर्राष्ट्रिय मूल्य समायोजनको नाममा एकै महिनामा पटकपटक पेट्रोलियम पदार्थको मूल्य बढाएर जनताको ढाड सेक्ने काम गरेको भन्दै त्यसको विरुद्धमा नेविसंघले दोस्रो चरणको आन्दोलन घोषणा गरेको छ ।

आइतबार अध्यक्ष नैनसिंह महरले विज्ञप्ती जारी गरेर मूल्यवृद्धि र कालोबजारीको विरोधमा दोस्रो चरणको आन्दोलन घोषणा गरेका हुन् । नेकपा नेतृत्वको सरकार गठन भएको एक सय दिनभित्रै पाँच पटक पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएपछि नेविसंघ आन्दोलनमा उत्रनु परेको अध्यक्ष महरले बताए ।

दोस्रो चरणको आन्दोलन अन्तर्गत नेविसंघले असार ४ गते मंगलबार बिहान ९ बजे देशैभरीका शिक्षण संस्था अगाडि एक घण्टा चक्काजाम गर्ने, असार ५ गते ७७ वटै जिल्ला सदरमुकाममा सरोकारवाला पक्षसँग सडक बहस र असार ८ गते नेपाल आयल निगमका कार्यालयहरु घेराउ गरिने कार्यक्रम रहेको विज्ञप्तीमा जनाइएको छ ।

नेविसंघले मूल्यवृद्धि निर्णय फिर्ताको माग गर्दै असार १० गते प्रदेश मुकामहरुमा विरोध सभा र मुख्यमन्त्रीहरुलाई ज्ञापन पत्र बुझाउने बताएको छ । मूल्यवृद्धिको विरोधमा घोषणा गरिएको दोस्रो चरणको आन्दोलन अन्तर्गत नेविसंघले असार १२ गते मध्यान्ह १२ बजे ५ मिनेट देशैभरी आ–आफ्ना सवारी साधनहरुको हर्न बजाई सरकारको चेत खुलाउने विरोध कार्यक्रम राखेको छ ।

नेविसंघका अध्यक्ष महरले मूल्यवृद्धि फिर्ता र कालोबजारी नरोकिएसम्म विद्यार्थी आन्दोलन जारी रहने चेतावनीसमेत दिएका छन् ।

पेट्रोलियम पदार्थको मुल्य वृद्धिको विरुद्धमा नै नेविसंघले यसअघि पहिलो चरणको आन्दोलन अन्तर्गत सिठी जुलसु–राँके जुलुस प्रदर्शन तथा प्रधानमन्त्रीको पुत्ला दहन गर्ने जस्ता कार्यक्रम देशव्यापी रुपमा गरिसकेको छ ।