नेपाल चीनको नाकाको सडक स्तरोन्नति कार्य शुरु

रसुवागढी, असार ४ । नेपाल र चीनबीचको सीमा नाका रसुवागढी लक्षित सडक स्तरोन्नति कार्य शुरु गरिएको छ ।

नेपाली सेनाले मैलुङदेखि स्याफ्रुबेँशीसम्मको १७ किलोमिटर सडकको निर्माण गरिसकेको छ । २०७२ वैशाखबाट ट्रयाक खोल्ने काम थालेको सेनाले सो सडकखण्डको भौगोलिक अवस्था अनुसार नौदेखि ११ मिटरसम्म विस्तार गरेको छ ।

गल्छी त्रिशूली मैलुङ स्याफ्रुबेँशी रसुवागढी सडक योजनाका सव इञ्जिनियर तुलाकान्त चौधरीका अनुसार गल्छी–रसुवागढीको कूल ८६ किलोमिटरमध्ये योजना अन्तर्गत हाल ४६ किमीको काम भइरहेको छ ।

सडक स्तरोन्नति योजना सम्पन्न गर्नका लागि रु तीन अर्ब ६३ करोड ९१ लाखमा दुई वर्षमा निर्माण सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भई २०७४ असारबाट काम थालिएको हो । योजना अन्तर्गत बजार क्षेत्रमा नालासहित चार लेन र अन्य बस्ती नभएका ठाउँमा दुई लेनको सडक निर्माण कार्य भइरहेको छ ।

कतिपय ठाउँमा मुआब्जालगायतका समस्याले गर्दा ठाउँठाउँमा निर्माण कार्य प्रभावित भएको भन्दै उनले हालसम्म १६ प्रतिशत मात्र काम भएको बताएका छन् । सडकको स्तरोन्नतिका क्रममा यस मार्गमा पर्ने १४ वटा पुल निर्माणका लागि छुट्टै योजना सम्झौता गरिएको छ । चौधरीका अनुसार पुल निर्माणका लागि रु ५७ करोड ९५ लाख लागत सम्झौता भएको छ ।

पुल निर्माणको काम पनि अघि बढेको, कोल्पुटार, ठूलो खोला र गेर्खुमा निर्माण भइरहेको उनले जानकारी गराएका छन् । नेपाल र चीनलाई जोड्ने सबैभन्दा छोटो नाका भएकाले यस सडकले चीनबाट गल्छी हुँदै काठमाडौँका साथै पोखरालाई जोड्न निकै सहज हुने टिमुरेका पर्यटन व्यवसायी दोर्जे तामाङले बताए ।

गल्छी–बेत्रावती–मैलुङ–स्याफ्रुबेँशी–रसुवागढी जोडिने यो सडक यस क्षेत्रको समृद्धिका साथै समग्र नेपालकै समृद्धि र विकासका लागि महत्वपूर्ण बन्ने उनको भनाइ छ । भूकम्पपश्चात् सबैभन्दा पहिले खोलिएको चीनसँगको यो नाकाका कारण यतिखेर यही मार्ग हुँदै मानसरोबर जाने पर्यटकका साथै चीनबाट स्थलमार्ग भई नेपाल आउने पर्यटक निकै लाभान्वित बन्ने गरेका छन्– उनले भने ।

सडक स्तरोन्नतिका क्रममा रहेका कारण यहाँका व्यवसायीलाई थप उत्साहित बनाएको छ । अहिले सञ्चालनमा रहेको पासाङ ल्हामु मार्गको काठमाडाँै बेत्रावती– धुन्चे हँुदै रसुवागढी जोड्ने सडक सेनाले निर्माण गरेको सडक करीब २५ किमी छोटो पर्छ ।

काठमाडौँबाट बेत्रावती–धुन्चे हँुदै रसुवागढी जोड्ने सडकको दूरी १४५ किमी छ भने बेत्रावती–मैलुङ–स्याफ्रुबेँशी हुँदै रसुवागढी जोड्ने सडकको दूरी १२० किमी मात्र रहेको छ । उक्त क्षेत्रमा सवारीसाधन चलाउँदै आएका सहदेव श्रेष्ठका अनुसार रसुवागढी नाका सञ्चालनसँगै चीनको केरुङबाट दैनिक विभिन्न सामानका ५०/६० वटा कन्टेनर नेपाल भित्रिने गरेका छन् ।

चालू योजना सम्पन्न भएसँगै रसुवागढीदेखि धादिङको गल्छीसम्मको दूरी ८४ किमीको हुनेछ भने गल्छीबाट काठमाडौँसम्मको दूरी ५० किमीको छ । काठमाडौँबाट केरुङ जम्मा चार घण्टामा पुग्न सकिन्छ ।

रसुवागढी नाकाबाट नेपालतर्फको १८ किमी सडक चीन सरकारले अनुदानमा बनाइदिने सम्झौताअनुरुप काम अघि बढाएको सब इञ्जिनियर चौधरीले बताए ।

रसुवागढी नाका सञ्चालनसँगै पछिल्ला दिन नाका हुँदै मानसरोबर जाने पर्यटक र चीनबाट स्थालमार्ग हुँदै आउने पर्यटकको संख्या बढेको स्थानीय पर्यटन व्यवसायी बुद्धिलक्ष्मी तामाङको भनाइ छ ।