चितवन, असार ४ । चितवनको नारायणगढ मुग्लिन खण्डको सडक बढाएसँगै ओभरटेक बढी हुन थालेपछि प्रहरीले कारबाही अभियान चलाएको छ ।
तीव्र गति र ओभरटेकका कारण सवारी दुर्घटना बढेको भन्दै गति मापन गर्ने ‘राडार गन’ कै प्रयोग गरेर कारबाही अभियान अगाडि बढाएको चितवनका प्रहरी उपरीक्षक सुशीलसिंह राठोरले बताए ।
आइतबार प्रमुख जिल्ला अधिकारी जीतेन्द्र बस्नेतको नेतृत्वमा गएको टोलीले स्थलगत अनुगमन गरेको उनले जानकारी गराएका छन् । सोही क्रममा तीव्र गतिमा सवारी चलाउने, मापसे गरेर चलाउने र ओभरटेग गर्ने ३५ जना चालकलाई नियन्त्रणमा लिइएको थियो ।
प्रहरी उपरीक्षक राठोरका अनुसार ठाउँठाउँमा चेकजाँच गर्ने, सम्झाउने काममा आइतबारदेखि नै प्रहरी परिचालन गरिएको छ । उक्त सडकमा अहिले सबै क्षेत्रमा बार बनिनसकेको, पुलसमेत जीर्ण रहेको र माथिबाट पहिरो खस्ने जोखिम देखिन्छ ।
सवारी चालकले ट्राफिक नियम जान्दाजान्दै पनि लापर्बाही गर्ने गरेको राठोरको भनाइ छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका अनुसार नारायणगढ मुग्लिक सडकखण्डमा ‘समय कार्ड’ नै उपलब्ध गराएर गाडी पास गराउने तयारी गरिएको छ ।
यसले दुर्घटना कम गर्नका मद्दत पुग्ने प्रहरीले बताएको छ । नारायणगढ मुग्लिन सडकको ३६ किलोमिटर क्षेत्रमा अहिले सडक चौडा बनाई कालोपत्रे गर्ने काम सकिएपछि सवारी तीव्र गतिमा हिँड्ने गरेका छन् ।