निःशुल्क स्वास्थ्य शिविरबाट एक हजार बढी लाभान्वित

दाङ, असार ४ । तुलसीपुर उपमहानगरपालिका–१६ को आयोजनामा लक्ष्मीपुर गाउँमा सञ्चालन गरिएको एक दिने महिलाको प्रजनन स्वास्थ्य सम्बन्धी निःशुल्क शिविरबाट एक हजार बढीले लाभ लिएका छन् ।

स्थानीय महिला सञ्जाललगायत विभिन्न संघसंस्थाको समन्वयमा गरिएको उक्त शिविर कार्यक्रममा स्थानीय ८६ वर्षीया सीता चौधरीले खुलेर आफ्ना समस्या राख्न पाउँदा खुशी व्यक्त गरिन् ।

उनले आफूलाई लामो समयदेखि पेट दुख्ने समस्या रहेको भन्दै आफ्नै घर आँगनमा डाक्टर आई आफूलाई निःशुल्क औषधिसमेत दिएकोमा खुशी व्यक्त गरेकी हुन् । उक्त शिविरमा उनी जस्तै एक हजार सात जनाले स्वास्थ्य सेवा लिएको स्त्रीरोग विशेषज्ञ डा पुष्पा डाँगीले बताइन् ।

शिविरमा उपचार गराएकामध्ये धेरैमा पाठेघरमा समस्या भएका महिला रहेको पनि डा डाँगीको भनाइ छ । त्यसैगरी सोही शिविरमा जेष्ठ नागरिकमा हातखुट्टा दुख्ने, दम खोकीलगायतका समस्या रहेको जनाइएको छ ।

स्वास्थ शिविरको उद्घाटन गर्दै तुलसीपुर उपमहानगरपालिका प्रमुख घनश्याम पाण्डेले अबदेखि तुलसीपुर उपनगरवासीले औषधि उपचारको अभावमा ज्यान गुमाउन नपर्ने गरी आफूहरुले काम अगाडि बढाइसकेको बताएका छन् ।

उनले तुलसीपुरका बासिन्दाको स्वास्थ्यको जिम्मेवारी स्थानीय सरकारले लिइसकेको भन्दै हरेक वडामा शहरी स्वास्थ्य क्लिनिक सञ्चालनमा ल्याउने काम थालिसकेको जनाएका छन् ।

शिविरमा राप्ती अञ्चल अस्पताल तुलसीपुरका डाक्टर पुष्पा डाँगी, डा गोकर्ण दाहालसहितको ४० जनाको स्वास्थ्यकर्मीको टोलीले सेवा प्रदान गरेको थियो ।