काठमाडौँ, असार ४ । महासमिति बैठक बोलाएर काँग्रेस तत्काल महाधिवेशनमा जानुपर्ने नेपाली काँग्रेस नेत्री सुजाता कोइरालाले बताएकी छिन् ।
आज रिपोर्टर्स क्लब नेपालद्वारा आयोजित साक्षात्कारमा बोल्दै उनले महासमिति बैठकमा आएका सल्लाह सुझावलाई समेटेर काँग्रेस चाँडो महाधिवेशनमा जानुपर्नेमा जोड दिएकी छिन् । काँग्रेसभित्र पराजयको जिम्मा लिनेसम्म व्यक्ति नहुँदा समस्या परेको नेत्री कोइरालाको भनाइ छ ।
संसद्मा बोल्ने विषयमा पार्टीभित्र छलफल नहुँदा काँग्रेस कमजोर प्रतिपक्षका रुपमा देखिएको उनले प्रस्ट पारिन् ।
हैकमवादी प्रवृत्तिले काँग्रेस चल्न नसक्ने भएकाले पार्टी भित्रको गुट–उपगुट समाप्त पार्ने नेतृत्व आवश्यक रहेको बताउँदै उनले बिपी कोइरालाको विचारलाई अगाडि बढाउने व्यक्तिलाई नेतृत्व दिनुपर्नेमा जोड दिइन् ।
नेत्री कोइरालाले स्थानीय तहसम्म पार्टी संरचना लैजानुपर्नेमा अहिलेसम्म पुग्न नसकेको बताएकी छिन् । युवालाई तालीम दिएर संगठन निर्माणमा लाग्नु काँग्रेसको प्रमुख काम भएको उनको भनाइ छ ।
चीन भ्रमणमा पूर्व सरकारले गरेका सन्धि सम्झौतालाई कार्यान्वयन गर्नेबारे यो सरकार लाग्नुपर्ने उल्लेख गर्दै पूर्व उपप्रधान तथा परराष्ट्रमन्त्रीसमेत रहेकी नेत्री कोइरालाले भनिन्– चीन र भारत दुवै नेपालका छिमेकी हुन्दु । दुवै देशसँग नेपालले समदूरी सम्बन्ध राख्नुपर्छ र चीन र भारत दुवैको समृद्धिको फाइदा नेपालले लिनुपर्छ ।