काठमाडौँ, असार ५ । काठमाडौँ उपत्यकामा चालु आर्थिक वर्षको पहिलो १० महिनामा सवारी दुर्घटनामा ज्यान गुमाउनेमध्ये १७ देखि ३५ वर्ष उमेर समूहका व्यक्तिको संख्या धेरै छ ।
उपत्यकामा सवारी दुर्घटनामा मृत्यु भएका १४९ जनामध्ये १७ देखि ३५ वर्ष उमेर समूहका ८० जना छन् । यस्तै १६ वर्षमुनिका १५ र ३६ वर्षभन्दा माथि उमेर समूहका ५४ जनाले सवारी दुर्घटनामा ज्यान गुमाएका छन् ।
चालु आर्थिक वर्षमा काठमाडौँ उपत्यकामा पाँच हजार १८० सवारी दुर्घटनामा १४९ जनाको मृत्यु, १८४ सशक्त घाइते र तीन हजार ४८५ सामान्य घाइते भएका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख वसन्तकुमार पन्तका अनुसार १६ देखि ३५ वर्ष उमेर समूहका व्यक्तिले तीव्र गतिमा सवारी चलाउने कारणले गर्दा धेरै दुर्घटना हुने गरेको हो ।
दुर्घटनामा ज्यान गुमाएका अधिकाशं यात्रु मोटरसाइकल चलाउने रहेका उनले बताएका छन् । गत आर्थिक वर्षमा पनि १६ देखि ३५ वर्ष उमेर समूहका व्यक्ति नै सबैभन्दा बढी सवारी दुर्घटनामा मृत्यु हुने गरेको तथ्यांक रहेको छ । सवारी दुर्घटनाबाट आव २०७२/७३ मा मृत्यु भएका १६६ मध्ये ९२ र आव ०७३÷७४ मा १८२ मध्ये ८६ जना सोही उमेर समूहका व्यक्ति छन् ।
महाशाखाका प्रमुख पन्तले उपत्यकामा हुने सवारी दुर्घटना दिउँसोको भन्दा रातिको समयमा बढी हुने गरेको जनाए । सवारी साधन धेरै र सडक साघुरो भएका कारण कतिपय सवारी साधन ठोक्किँएर दुर्घटना हुने गरेको महाशाखाले जानकारी गराएको छ ।
हाल काठमाडौँ उपत्यकामा ११ लाख ३२ हजार ९२५ सवारी साधन आवतजावत गर्छन् भने देशभर २७ लाखको हाराहारीमा सवारी साधन संचालनमा छन् । काठमाडौँ उपत्यकामा मात्र ४० ट्राफिक प्रहरी इकाइमार्फत सवारी व्यवस्थापन हुँदै आएको छ ।
ट्राफिक दरबन्दी कम र सवारी साधनको संख्या धेरै हुँदा उपत्यकाको सवारी व्यवस्थापनमा समस्या हुँदै आएको महाशाखा प्रमुख पन्तको भनाइ छ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले पूर्वाधारको कमी र तीव्र गतिले सवारी चलाउँदा दुर्घटना बढी हुने गरेको बताए ।
उपत्यकामा आफ्नो सवारी साधनका साथै अर्काको सवारी साधनबाट पनि उत्तिकै दुर्घटना हुने गरेको छ– उनले भने । उपत्यकामा हुने दुर्घटनामा महिलाको तुलनामा पुरुषको मृत्यु धेरै हुने गरेको छ ।
महाशाखाका अनुसार आव २०७२/७३ मा १३० पुरुष र ३६ महिला, आव २०७३/७४ मा १२१ पुरुष र ६१ महिला तथा चालु आर्थिक वर्षमा ११७ पुरुष र ३२ महिलाको सवारी दुर्घटनाबाट मृत्यु भएको छ ।
महाशाखाले चालु आवमा ऐन कानुन विपरित सवारी साधन चलाउने तीन लाख ७८ हजार ९२७ जनालाई कारबाही गरेको छ ।
तीमध्ये लेन अनुशासनमा ३८ हजार ८१४, मापसेमा २६ हजार १९७, ट्याक्सी कारबाहीमा छ हजार ६८०, जेब्राक्रसिङ कारबाहीमा सात हजार ३९७, हर्न कारबाहीमा १३ हजार १९, सिसिटिभीमा एक हजार ९६३, बढी वान क्यामरामा छ हजार ५६३, बुलेट मोटरसाइकलमा छ हजार ८०२ र अन्य कारबाहीमा गरी दुई लाख ७१ हजार ४९२ जना रहेका छन् ।
उपत्यकामा सवारी साधन धेरै हुँदा समस्यासमेत हुने गरेको छ । हाल उपत्यकामा एउटा ट्राफिक प्रहरीले एक हजार ४४ सवारीसाधन व्यवस्थापन गर्दै आएको महाशाखाले जनाएको छ ।