काठमाडौँ, असार ५ । औद्योगिक विवरण पेश नगर्ने उद्योगपतिलाई कारवाही गरिने भएको छ ।
उद्योग विभागले औद्योगिक व्यवसाय ऐन, २०७३ को प्रावधान अनुसार २०७३/७४ को औद्योगिक विवरण अद्यावधिकका लागि सूचना प्रकाशित गरेकामा सो विवरण नपठाए कारवाही गरिने भएको हो ।
विभागका प्रवक्ता दुर्गाप्रसाद भुसालले मुलुकभर रहेका ठूला, मझौला र विदेशी लगानीका साना उद्योगको विवरण अद्यावधिकका लागि सूचना प्रकाशित गरिएको बताए । विभागमा दर्ता भएका उद्योग सञ्चालन भए/नभएको हेर्न विवरण अद्यावधिक गर्न लागेका हौँ उनले भने ।
उद्योग विभाग अन्तर्गत दर्ता भएका करीब सात हजार ५०० उद्योगमध्ये के कति सञ्चालनमा आएका र के कति सञ्चालनमा आएका छैनन् भन्नेबारेमा सूचना प्रकाशित गरेर विवरण अद्यावधिक गर्न लागेको भुसालले जनाएका छन् ।
उद्योगको नाम, उद्योग रहेको स्थान, सम्पर्क व्यक्ति, उद्योग दर्ता नं र मिति, उद्योग सञ्चालन भएको मिति, उद्योग सञ्चालनको अवधि, कूल लगानी, विदेशी लगानी, रोजगार मजदूर, कच्चा पदार्थको प्रयोगलगायतका विषयवस्तु विवरणका साथ उद्योगले उपलब्ध गराउनुपर्ने हुन्छ ।
औद्योगिक व्यवसाय ऐनको दफा १२ ले उद्योगले तोकेको विवरण उद्योग दर्ता गर्ने निकायसमक्ष पेश गर्नुपर्ने व्यवस्था अनुसार विवरण पेश गर्नका लागि विभागले अनुरोध गरेको हो ।
क्षमता र उत्पादनका आधारमा तोकिएको विवरण पेश नगर्ने उद्योगपतिलाई औद्योगिक व्यवसाय ऐनको दफा ४१ बमोजिम कारवाही गर्ने विभागले बताएको छ ।
उद्योग विभागबाट हाल रु १० करोडभन्दा कम विदेशी लगानीका साना उद्योग, रु १० देखि २५ करोडसम्मका मझौला उद्योग र रु २५ करोडभन्दा बढी लगानीका ठूला उद्योग दर्ता गरिएका छन् ।