चीन, असार ७ । छदिने चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले चीनका प्रधानमन्त्री ली खछ्याङको मैत्रीपूर्ण निमन्त्रणामा आज नेपाल–चीन मैत्रीपूर्ण दौड प्रतियोगिताको उद्घाटन गरेका छन् ।
नेपालको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले बेइजिङ युनिभर्सिटी अफ स्पोर्टमा आयोजना गरिएको सो प्रतियोगिता उद्घाटन कार्यक्रममा भ्रमण टोलीमा रहेका मन्त्रीहरु र चीनका राष्ट्रिय प्रशासन सहायकमन्त्री जाओ झिदानसहित चीनका लागि नेपाली राजदूत र नेपालका लागि चिनियाँ राजदूतको सहभागिता थियो ।
उद्घाटनअघि प्रधानमन्त्री ओलीसँग चीनका राष्ट्रिय प्रशासन सहायकमन्त्री जाओ झिदानले वार्ता गरे । सो अवसरमा उनले खेलकुदका माध्यमबाट दुई देशबीचको सम्बन्धलाई विस्तार गर्न सकिने विश्वास व्यक्त गरे ।
प्रधानमन्त्री ओलीले विभिन्न प्रकारका खेलकुदमा दुई देशबीच सहकार्य गर्न सकिने जनाउँदै त्यसका लागि दुई देशका सम्बिन्धित निकायलाई त्यसतर्फ अघि बढाउने बताए ।
प्रतियोगितामा नेपाल र चीनका गरी तीन दर्जनभन्दा बढी युवाको सहभागीता रहेको थियो ।
सिपिसीको स्कुलको संग्रहालय अवलोकन
चीन भ्रमणका क्रममा रहेका प्रधानमन्त्री ओलीले आज चाइना कम्युनिष्ट पार्टी (सिपिसी) केन्द्रीय समितिको कार्यालयमा रहेको संग्रहालयको अवलोकन गरेका छन् ।
सिपिसीको पार्टी स्कुलले आयोजना गर्ने छलफलमा सहभागी हुनुपूर्व प्रधानमन्त्री ओलीले उक्त संग्रहालयको अवलोकन गरेका हुन् । संग्रहालयमा चिनियाँ कम्युनिष्ट पार्टीको इतिहास भल्काउने विविध सूचनासहितको सामग्री राखिएका छन् ।
अवलोकनका क्रममा उनका धर्मपत्नी राधिका शाक्यसहित भ्रमणदलमा सहभागी मन्त्रीहरु, सांसद र सरकारी उच्च अधिकारीको सहभागिता थियो । यस संग्रहालयमा कम्युनिष्ट नेताले आफ्ना कार्यकर्तालाई कसरी अनुशासित गर्ने तथा पार्टीका बारेमा कसरी प्रशिक्षित गर्ने भन्ने कुरा झल्काइएको छ ।
पार्टीको संगठनका विषयमा कुन विषय सही र कुन गलत हो भन्ने विषयबारे जानकारी गराइनेबारे तस्बीर तथा यहाँ संग्रहित वस्तुले जानकारी दिन्छ ।
माओका विचारलाई अगाडि बढाउने र चिनियाँ विचार तथा शैलीसहितको समाजवादको विकास कसरी गर्ने भन्ने विषयमा पनि यस संग्रहालयले जानकारी दिन्छ ।
प्रधानमन्त्री ओलीले पार्टी स्कुल विभागको आयोजनामा विकास र समृद्धिमा राजनीतिक दलको भूमिका विषयमा प्रवचन दिँदै छन् भने आजै चीनका प्रधानमन्त्रीसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।