पोखरा, असार ७ । सरकारले मूल्यवृद्धि र प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप गरेको भन्दै नेपाल तरुण दल पोखरा लेखनाथ महानगरपालिका समितिले त्यसको विरोधमा आज पोखरामा विरोध र्याली निकालेको छ ।
पोखराको महेन्द्रपुल चोकबाट निकालिएको सो र्याली चिप्लेढुंगा बिपी चोकमा पुगी कोणसभामा परिणत गरिएको थियो ।
कोणसभामा तरुण दल पोखरा लेखनाथ महानगरपालिका समिति अध्यक्ष महेन्द्र पुनले चर्को मूल्यवृद्धिका कारण जनता मारमा परेको भन्दै तत्काल मूल्यवृद्धि फिर्ता लिन सरकारसँग माग राखेका छन् ।
प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप बढेको भन्दै उनले सरकार निरंकुश बन्दै गएको आरोप लगाए ।
कोणसभामा नेपाल तरुण दल क्षेत्र नं २ का सभापति डिआर भट्टराई, नेपाल तरुण दल पर्वतका अध्यक्ष राजु मल्ल, तरुण दलका पूर्वनगरसभापति सुरजजंग राणालगायतले मूल्यवृद्धि फिर्ताको माग गर्दै लोकतान्त्रिक मूल्य र मान्यतालाई आत्मसात् गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।