काठमाडौँ, असार ७ । पछिल्लो समय नेपाल घुम्न आउने विदेशी पर्यटकहरुको संख्यामा वृद्धि हुन थालेको छ ।
सन् २०१७ को मे महिनाको तुलनामा सन् २०१८ को मे महिनामा नेपाल आउने विदेशी पर्यटकको संख्या ९.६ प्रतिशतले वृद्धि भएको छ । अध्यागमन विभागको तथ्यांकअनुसार सन् २०१८ को मे मा ६८ हजार ८२५ विदेशी पर्यटकले नेपाल भ्रमण गरेका हुन् । यो सहित पाँच महिनामा चार लाख ५४ हजार ८५५ विदेशी पर्यटक नेपाल आएका छन् ।
सन् २०१७ को सोही अवधिमा १२.५ प्रतिशतले वृद्धि भएको हो । तथ्यांक अनुसार सन् २०१७ को मे महिनाको तुलनामा यस वर्षको मे महिनामा भारतबाट सबैभन्दा बढी ८.६ प्रतिशत पर्यटक आएका छन् । त्यसैगरी दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क)का मुलुकबाट आउने पर्यटकको संख्या हेर्दा गत वर्षको यही महिनामा सकारात्मक वृद्धि (२.२ प्रतिशत) देखिन्छ ।
पर्यटक आगमनको आँकडा हेर्दा चीनबाट नेपाल आउने पर्यटकको संख्या निरन्तर बढ्दै जान थालेको छ । सन् २०१७ को मे महिनाको तुलनामा यस वर्षको मे महिनामा २५.२ प्रतिशतले वृद्धि भएको छ । पर्यटक आगमनमा सार्क मुलुकको तुलनामा एशिया १४.२ प्रतिशतले अगाडि छ ।
थाइल्याण्ड र सिंगापुरबाट नेपाल आउने पर्यटकको संख्यामा वृद्धि भई क्रमशः ६२.१ प्रतिशत र ११.३ प्रतिशत पुगेको छ । समग्रमा गत वर्षको मे महिनामा युरोपबाट नेपाल आउने पर्यटकको संख्या १८ प्रतिशतले न्युन हुँदै गएको पाइन्छ ।
तथापि फ्रान्स र जर्मनीबाट आउने पर्यटकको संख्या क्रमशः २६.८ र ४९ प्रतिशतले बढेको छ । सोही अवधिमा संयुक्त अधिराज्य बेलायतबाट आउनेको संख्या ७.४ प्रतिशतले कम भएको देखिन्छ ।
सन् २०१७ को मे महिनाको तुलनामा सन् २०१८ मे महिनामा अष्ट्रेलिया र न्यूजील्याण्डबाट आउने पर्यटकको संख्यामा क्रमशः १०.४ र २८.७ प्रतिशतले बढेको छ ।
संयुक्त राज्य अमेरिका र क्यानडाबाट पनि अघिल्लो वर्षको तुलनामा सन् २०१८ को मे महिनामा क्रमशः ७.४ र ५.३ प्रतिशतले पर्यटक आगमनमा वृद्धि भएको छ ।