पाठ्यक्रम विकास केन्द्रलाई नेविसंघको क्याल्कुलेटर उपहार

काठमाडौँ, असार ८ । शिक्षा, प्रविधि तथा विज्ञान मन्त्रालय अन्तर्गतको पाठ्यक्रम प्रारुप २०७५ लाई लिएर नेपाल विद्यार्थी संघ आन्दोलित भएको छ ।

विद्यालय शिक्षा अन्तर्गत कक्षा ११ र १२ को विज्ञान समूहको पाठ्यक्रममा भौतिक शास्त्र, रसायनशास्त्र, गणितलाई अनिवार्य नगरिँदा शिक्षामा अझै व्यवहारिकता नहुने भन्दै नविसंघले आपत्ति जनाएको नेबि संघ केन्द्रिय सदस्य सुशील भट्टले बताए ।

नेविसंघ महामन्त्री कुन्दरराज काप्लेको नेतृत्वमा बुझाइएको ज्ञापनपत्रमा भनिएको छ– संसारमा कक्षा १२ सम्म अधिकांश देशमा आधारभूत विज्ञानका विषय अर्थात् भौतिकशास्त्र, रसायनशास्त्र, जीव विज्ञान र गणित पढाइन्छ ।

तर प्रस्तावित नयाँ पाठ्यक्रमले रसायनशास्त्रको ठाउँमा विद्यार्थीले भुगर्भशास्त्र र खगोलविज्ञान पढ्न पाउने व्यवस्था गर्नु वैज्ञानिक शिक्षालाई जोड नदिनु हो ।

पाठ्यक्रम विकाश केन्द्रका निर्देशक कृष्ण काप्रीलाई ध्यानकार्षणसहित ज्ञापनपत्र र संकेतिक विरोध स्वरुपमा क्याल्कुलेटर उपहार दिदै महामन्त्री काफ्लेले भने– अहिलेकै अवस्थामा पाठ्यक्रम लागू गर्ने हो भने एकपटक सरोकारवालाहरु बिच विज्ञसहितको छलफल हुनु आवश्यक छ ।

ज्ञापनपत्र बुझाउने कार्यक्रममा नेविसंघ महामन्त्री कुन्दन राज काफ्ले, उपाध्यक्ष नविन राई लगायतको नेविसंघ नेता कार्याकर्ताको उपस्थिती रहेको थियो ।