सोलुखुम्बुमा जीप दुर्घटनामा मृत्यु भएका सातै जनाको सनाखत

सोलुखुम्बु,असार १५ । सोलुखुम्बुको दुधकुण्डमा शुक्रबार बिहान भएको सवारी दुर्घटनामा मृत्यु भएका सातै जनाको सनाखत भएको छ । आज बिहान ८ बजे भएको जीप दुघर्टनामा तीन पुरुष र चार महिलाको मृत्यु भएको प्रहरी निरीक्षक एवं सूचना अधिकारी प्रद्युम्नकुमार अधिकारीले जानकारी गराए ।

अधिकारीका अनुसार मृत्यु हुनेमा जीप चालक उदयपुर सिरिसे– ८ निवासी ३१ वर्षीय कुसाङ तामाङ, सिरहा सनैखा निवासी ३६ वर्षीय शिवकुमार यादव र ओखलढुंगाको माम्खा– ५ बस्ने ४० वर्षीय श्यामकुमार राईको सनाखत भएको हो ।

यस्तै खोटाङ खाल्ले– ८ निवासी २४ वर्षीया कोपिला बस्नेत (काकी), सोलुखुम्बुको नेचासल्यान– २ बस्ने अन्दाजी ३५ वर्षकी उर्मिला बास्तोला, सोही ठेगाना भएकी अन्दाजी २५ वर्षकी सुशीला खड्का र करीब– ८ वर्षीया सुष्मा खड्काको पनि मृत्यु भएको प्रहरी निरीक्षक अधिकारीले बताए ।

बिहान नेचासल्यानबाट सल्लेरीतर्फ आउँदै गरेको ना १ ज १८६० नं को जीप साविक तिङ्ला–१ स्थित गुप्तेश्वर महादेवथान मन्दिर नजिकैको चिप्ले भिरमा खसेको थियो ।