त्रिशुली आयोजना निर्माणका लागि वन क्षेत्र प्रयोग गर्न दिइने

काठमाडौँ, साउन १५ । सरकारले माथिल्लो त्रिशुली तेस्रो ‘बी’ जलविद्युत् आयोजना निर्माणका लागि वन क्षेत्र प्रयोग गर्न दिने मन्त्रीपरिषद्को निर्णय भएको छ ।

आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले ३७ मेगावाट क्षमताको जलविद्युत् आयोजना निर्माणका लागि वन क्षेत्र प्रयोग गर्न पाउने निर्णय गरेको कानून, न्याय तथा संसदीय मामिला मन्त्री शेरबहादुर तामाङले बताए ।

खाद्यान्न ढुवानीका लागि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई थप ७ करोड रुपैयाँ उपलब्ध गराउने बैठकले निर्णय गरेको छ ।

बैठकले नेपाल प्रहरी र प्रदेश प्रहरीले सम्पादन गर्ने कामको सञ्चालन, सुपरीवेक्षण र समन्वयसम्बन्धी विधेयक तथा सशस्त्र प्रहरी बल नेपाल सेवाको गठन, सञ्चालन र सेवाका शर्तसम्बन्धी विधेयक तर्जुमाका लागि सैद्धान्तिक सहमति दिएको मन्त्री तामाङले जनाए ।

मन्त्रिपरिषद्को बैठकले विदुषी योगमाया विश्वविद्यालय बनाउने सम्बन्धमा कानून बनाउने सैद्धान्तिक सहमति पनि दिएको छ ।