असार १५ मनाउँदै निधिद्वारा औपचारिक रुपमा पदभार ग्रहण

काठमाडौं, असार १५ । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले आज विहान केन्द्रीय कार्यालयमा स्थापित उपसभापतिको कार्यालय प्रवेश गरी पदभार ग्रहण गरेका छन् ।

सभापति शेरबहादुर देउवाले उपसभापति पदमा मनोनयन गरेको करीव दुईमहिनापछि निधिले धान दिवसको अबसर पारेर औपचारिक रुपमा पदभार ग्रहण गरेका हुन् । पदभार ग्रहणका क्रममा निधिले हेटौंडामा सम्पन्न सभापतिहरुको भेला पछि नेपाली कांग्रेसले नयां आयाम लिएको हुनाले अगामी दिनमा निर्वाचन पराजयका विषय उठान गर्नु नपर्ने प्रष्ट पारे ।

पार्टी एकताको सन्देश सभापति भेलाले दिइसकेको उनले बताए । उनले अवका दिनमा कसरी कांग्रेसलाई स्थानीय स्तर सम्म सक्रिय र प्रशिक्षित बनाउने भन्ने तर्फ केन्द्रित हुनु पर्नेमा जोड दिए । पार्टी विधान अनुसार उपसभापतिले पार्टी प्रक्षिण प्रतिष्ठानको नेतृत्व गर्ने प्राबधान छ । निधिले आगामाी दिनमा स्थानीय तहका ७५३ वटै इकाई र तिनका वडाहरुमा पार्टीको प्रशिक्षण सञ्चालन गर्ने जानकारी समेत गराए ।

निधिले वर्तमान सरकार दिनप्रतिदिन एकाधिकारवाद तर्फ उन्मुख हुँदै गएको र प्रेसमाथि नियन्त्रण गर्दै कार्यक्रम स्थलहरुमा समेत अंकुश लगाउन लागेको प्रति आपत्ति समेत जनाए । निधिको पदभार समारोहमा नेपाली कांग्रेसका सदस्यहरु सहित सञ्चारकर्मीहरुको बाक्लो उपस्थिति रहेको थियो । कांग्रेसमा प्रशिक्षण र अनुशासनको विषय निकै गंभीर रहेको राजनितीक विश्लेशक बताउँछन् ।