पिछिल्लाे समय एचआइभी संक्रमितहरु खुल्दै

रोल्पा, असार १७ । कुनै समय समाजमा खुल्न नसकेका रोल्पाका एचआइभी संक्रमित पछिल्लो समय खुल्न थालेका छन् ।

सरकारी तथा गैरसरकारी निकायद्वारा गरिएको एचआइभीसम्बन्धी जनचेतनामूलक कार्यक्रमका कारण संक्रमितहरु समाज सहजै खुल्न थालेका हुन् । जनचेतनाका कारण संक्रमित खुल्न थालेसँगै जिल्लामा संक्रमितको संख्यामा समेत वृद्धि हुन थालेको छ ।

हरेक वर्ष दुई/तीन जनाका दरले नयाँ संक्रमित थपिँदै गएको रोल्पा प्लसका अध्यक्ष राधा विकले बताए । यस वर्षको माघ महिनामा मात्र तीन जना नयाँ संक्रमित थपिएको विकले बताएका छन् ।

हाल जिल्लामा ४९ जना एचआइभी संक्रमित रहेको रोल्पा प्लसले बताएको छ । संक्रमितमध्ये १५ जना कामको सिलसिलामा जिल्ला बाहिर रहेका छन् । जिल्लाभित्र रहेका ३४ जनामध्ये २० जना महिला छन् ।

आफूहरुको सम्पर्कमा आएकामध्ये ३२ जनाले नियमित औषधि सेवन गरे पनि दुई जना भने समाजको डरले औषधि सेवन गर्न हिचकिचाउने गरेको विकले बताए । जिल्लामा संक्रमितमध्ये हालसम्म १४ जनाको मृत्यु भइसकेको रोल्पा प्लसले जनाएको छ ।

उनले संक्रमितलाई परामर्श दिने तथा नियमित औषधि सेवनका लागि प्रोत्साहन गरेका कारण संक्रमितहरु सहजै रुपमा खुल्न थालेको बताए ।

बाबु आमाका कारण तीन बालबालिकासमेत एचआइभी संक्रमित भएका छन् भने ३२ बालबालिका प्रभावित भएको बताइएको छ ।

प्रभावित बालबालिकाको पठनपाठनलाई निरन्तरता दिन विभिन्न संघ संस्थाले शैक्षिक सहयोग गरिरहेका छन् ।