ललितपुर, असार १७ । महानगरपालिकाका सबै भित्री सडकमा दमकल पुग्न सक्दैनन् । आगलागी नियन्त्रणका लागि दमकल आवश्यक भए पनि ललितपुर महानगरपालिकाका भित्री भागमा दमकल पुग्न सक्ने खालको बाटो छैन ।
बाटो साँघुरो भएका कारण नगरका भित्री भागसम्म दमकल नजाने नगर प्रहरी प्रमुख कदमलाल महर्जनको भनाइ छ । दमकल जाने ठाउँसम्म लगेर नजाने ठाउँबाट रोलिङ तानेर आगो नियन्त्रण हुने गरेको छ ।
बाटाबाट टाढा हुँदा एकातिर रोलिङ पुर्याउन समय लाग्ने र अर्कातिर पानी कम जोडले जान्छ ।सडक नजीकका घरमा भन्दा टाढाका घरमा नियन्त्रणको काम गर्न समय लाग्ने र निभाउनको लागि पनि धेरै ढिलो हुने उनले बताए ।
बाटो नभएका स्थानमा घरको माथिबाट रोलिङ लगेर आगो लागेको स्थानसम्म पुग्नुपर्ने महर्जनको भनाइ छ । रोलिङ मिलाएर पुग्दासम्म समय लाग्छ, छोटो समयमा नै आगो ठूलो क्षेत्रफलमा फैलिन्छ उनले भने– ठूलो आगो लाग्यो भने जनधनको क्षति हुने सम्भावना हुन्छ ।
सडक नजाने नगरका भित्री भागमा फायर मेशिन र रिजर्भ पानी ट्याङ्की राखेर स्थानीयस्तरमा पनि आगो नियन्त्रणको प्रयास गर्न सकिन्छ । हामीसँग नागबहालमा मात्रै यी प्रविधि र ज्ञान भएका स्थानीयवासी छन् । महानगरपालिकामा दुई पानीट्याङ्की भएका र दुई नभएका गरेर चार दमकल छन् ।