काठमाडौँ, असार १८ । आज बसेको राष्ट्रियसभाको बैठकमा सांसदहरुले वर्षाको समयमा पहाडमा पहिरो र तराई डुबानको समस्या आउने भएकाले समयमा नै सतर्कता अपनाउन सरकारको ध्यानाकर्षण गराएका छन् ।
सांसद सुमनराज प्याकुरेलले विशेष सभामा भाग लिँदै तराईका जिल्लामा विभिन्न नदीमा पानीको बहाव बढ्दै गएपछि डुबानको खतरा पनि झन बढेको भन्दै रोकथामका लागि समयमा नै तयारी गर्न सरकारको ध्यानाकर्षण गराए ।
सांसद रामनारायण विडारीले भारतले नेपालको सिमानामा ठूल्ठूला बाध बाँधेका कारण तराईमा प्रत्येक वर्ष डुबानको समस्या हुने गरेको बताए । सांसद जीतेन्द्र देवले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा ‘कनेक्टिभिटी’सँग जोडिएका योजनालाई कार्यान्वयनमा लाँदा गम्भीरता अपनाउन अनुरोध गर्दै यस्ता परियोजना ऋणमा चलाउन नहुने सुझाव दिए ।
सांसद वृशेषचन्द्र लालले कैलाली निर्वाचन क्षेत्र नं १ बाट विजयी भएका रेशमलाल चौधरीलाई निर्वाचन आयोगले निर्वाचित पदाधिकारीको प्रमाण दिनुपर्ने बताए । सांसद विमला राई पौडेलले मन्त्रालयस्तरका गाउँमा जाने बजेटलाई एकीकृत गर्नुपर्ने सुझाव दिएका छन् ।
सांसद बलराम बास्कोटाले एसइई परीक्षाको ग्रेडिङ प्रणालीमा देखिएको कमजोरी खोज्नका लागि अनुरोध गरे । सांसद धनकुमारी खतिवडाले खोकना र बुङ्गमतीका बासिन्दाले अहिलेसम्म पुनःनिर्माणका लागि दिइने रु तीन लाख अनुदान नपाएको बताए ।
सांसद जीवन बुढाले वर्षाले दैलेख, कालीकोट र अछामका विद्यालयका छानो भप्काएको र बालीनाली नष्ट गरेको हुँदा त्यसक्षेत्रका जनताको समस्याप्रति ध्यान दिन सरकारसँग आग्रह गरे ।
सांसद नन्दा चपाईंले सुर्खेतमा संविधानसभा निर्वाचनका बेला तत्कालीन एमालेका ऋषिराज शर्मालाई गोली हानी हत्या गर्ने व्यक्तिलाई पक्राउ गरी कारबाही गर्नुपर्ने माग गरेका छन् ।
सांसद खेमराज नेपालीले योगमायासहित ६८ जना महिलाले राणा शासनविरुद्ध अरुण नदीमा हाम फाल्नुपर्ने कारणका बारेमा अध्ययन गर्न सरकारसँग अनुरोध गरे ।
राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले विशेष समयमा उठेका विषयहरुमा सम्बन्धित मन्त्रीले अर्को बैठकमा जवाफ दिने बताए ।