काठमाडौं, असार १८ । अहिलेको सरकारले बहुमतको आडमा राजाको कार्यकालमा भन्दा चर्को दमन र सर्वसत्तावाद लाद्ने उद्देश्यका साथ अगाडि बढेको नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाश शरण महतले आरोप लगाएका छन् ।
नेपाली राजनीतिका शिखर पुरुष स्व. गिरिजा प्रसाद कोईरालाको ९५ औं जन्मजयन्तिको अवसरमा नेपाल प्रेस युनियनद्वारा आयोजित लोकतन्त्रको सुदृढीकरणमा प्रेसको भुमिका विषयक अन्तरक्रिया कार्यक्रममा प्रमुख अतिथिको भूमिका निभाउँदै उनले सो कुरा बताएका हुन् ।
गिरिजाप्रसाद कोइरालाले उनको जीवनको हरेक कालखण्ड राजनीतिमा विताएको स्मरण गर्दै कोइरालाले देखाएको बाटोमा कांग्रेस हिड्नुपर्ने उनले प्रस्ट पारे । अहिलेको सरकारले अधिनायकवादी र सर्वसत्तावादीको लक्षण देखाएको महतको भनाइ छ ।
नेपाली कांग्रेसले सरकारका हरेक गतिविधिलाई नजिकबाट नियाल्दै दह्रो प्रतिपक्षको भूमिका निर्वाह गर्न सक्ने उनले प्रस्ट्याए । सरकारले देखाएका अधिनायकवादी कदमको विरोधमा कांग्रेस सडकदेखि सदनसम्म विरोधमा उत्रिने महतले जानकारी गराए ।
सरकारले प्रेसमाथि गरेको उदण्ड व्यवहार छताछुल्ल भएको बताउँदै डा महतले भने सरकारले प्रेसमाथि लागाउन खोजेको अंकुशको विरुद्धमा कांग्रेस खरो रुपमा उत्रन्छ । मिडियाको स्वतन्त्रता र प्रेस स्वतन्त्रतालाई कांग्रेसले उच्च प्राथमिकतामा राख्नेसमेत उनले बताए । लोकतन्त्रको धरोहर खम्वालाई कमजोर पार्ने कुनै पनि प्रवृत्तको खिलापमा कांग्रेस कडा रुपमा प्रस्तुत हुने उनको भनाइ छ ।
पार्टी कमजोर बनाउने प्रवृत्तिका मनसायलाई नेपाली कांग्रेसभित्र बढावा दिनुनहुने महतले बताए । प्रदेश सभा र प्रतिनिधि सभामा नेपाली कांग्रेसको प्रतिनिधित्व कमजोर देखेर अहिलेको सरकारले अहंकारपूर्ण तरिकाले प्रस्तुत भएको जिकिर गर्दै त्यस्तो अहंकार त्याग्न नेपाली कांग्रेसले अनुरोध गर्ने जानकारी गराए ।
उनले नेपाली कांग्रेसलाई आधुनिक पार्टी, वैज्ञानिक पार्टीको रुपमा अगाडि बढाउन उचित कदम चाल्नुपर्ने धारणा राखे । नेपाली कांग्रेसले संगठन गर्ने शैली र प्रचार गर्ने शैली कम्युनिष्टबाट सिक्नुपर्ने उनले प्रस्ट पार्दै भने– कम्युनिष्ठले तिल बराबर गरेको कामलाई पहाड बनाउँदा कांग्रेसले पहाड बराबर गरेको कामको उचित प्रचार गर्न नजान्दा पछि परेको हो ।
उनले अहिलेको सरकारले हरेक निकायलाई छाँयामा राख्न खोजेकोसमेत प्रस्ट पारे । कम्युनिष्टहरु आफ्ना प्रसंशा मात्र सुन्न चाहने भएकाले कमी कमजोरी र आलोचनाको प्रतिवाद गर्दै विरोधमा उत्रिने उनले स्पष्ट पारे ।
नेपाली कांग्रेस राणाकालदेखि अधिनायकवादको विरुद्धमा लड्दै आएको स्मरण गर्दै उनले भने अहिलेको सरकारले अधिनायकवादी कदम चाल्दा चुप लागेर नेपाली कांग्रेस बस्दैन ।