दिगो विकास लक्ष्य हासिल गर्ने दिशामा क्रियाशील रहनुपर्ने

ललितपुर, असार २० । व्यापारिक समुदायले आफ्नो व्यवसाय प्रवद्र्धनसँगै दिगो विकास लक्ष्य हासिल गर्ने दिशामा क्रियाशील रहनुपर्नेमा जोड दिइएको छ ।

उत्तरदायीपूर्ण ढंगबाट व्यवसाय प्रवद्र्धनसँगै दिगो विकास लक्ष्य हासिल गर्ने उद्देश्यले राष्ट्रिय संयन्त्रका रुपमा स्थापित ग्लोबर कम्प्याक्ट नेपालद्वारा बुधबार आयोजित कार्यक्रममा सहभागी वक्ताहरुले यस मञ्चलाई उपयोग गर्नुपर्ने विचार राखे ।

कार्यक्रममा संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमका राष्ट्रिय प्रतिनिधि रेनाउड मेयरले दिगो विकास लक्ष्यले परिलक्षित गरेका लक्ष्यहरु कार्यान्वयन गराउन निजी व्यवसायीहरुको भूमिका महत्वपूर्ण रहने बताए ।

ग्लोबल कम्प्याक्ट नेपालकी अध्यक्ष सुलोचना श्रेष्ठ शाहले सन १९९९ मा संयुक्त राष्ट्रसंघका तत्कालीन महासचिव कोफी अन्नानको घोषणा अनुसार स्थापना भएको विश्वव्यापी संयन्त्रलाई सन् २०१५ मा नेपालमा अनौपचारिक रुपमा स्थापना गरिएको र हाल यसमा गैरसरकारी संस्था र व्यापारिक कम्पनी गरी २२ सदस्य रहेको बताएका छन् ।

उक्त अवसरमा संस्थाका महासचिव योगेश सत्याल, सदस्य समीर थापा, नवीना श्रेष्ठलगायतले ग्लोबल कम्प्याक्ट नेपालका गतिविधि र भावी कार्यक्रमका बारेमा जनाएका थिए ।