उपत्यकाको ट्राफिक व्यवस्थापनका लागि अस्थायी पार्किङको व्यवस्था

काठमाडौँ, असार २० । ट्राफिक व्यवस्थापनलाई प्रभावकारी बनाउनका लागि उपत्यकाका १४३ स्थानमा दुईपांग्रे र चारपांग्रे सवारी साधनलाई अस्थायी पार्किङको व्यवस्था गरिएको छ ।

काठमाडौँ महानगरपालिकाको सहकार्यमा महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकाका ६० स्थानमा ट्याक्सी, ८३ स्थानमा कार र मोटरसाइकल राख्न मिल्ने गरी अस्थायी पार्किङको व्यवस्था गरेको हो ।

महाशाखाका प्रवक्ता सुरेन्द्रप्रसाद मैनालीले उपत्यकाको ट्राफिक व्यवस्थापनलाई सहज तुल्याउनका लागि काठमाडौँ, भक्तपुर र ललितपुरमा अस्थायी रुपमा सवारी पार्किङको व्यवस्था गरेको बताए । बस स्टपमा बोर्ड राख्ने, फराकिलो बाटोमा पार्किङ गर्ने, साँघुरो बाटोका सवारी हटाउनेलगायतका कामलाई प्राथमिकता दिएका छौँ –उनले भने ।

महाशाखाले भोटाहिटी, जमल, पुरानो बसपार्क, सुन्धारा गोश्वारा हुलाक गेट, खिचापोखरी, धर्मपथ, शंकरदेव गेट, ठमेल सञ्चयकोष गेट, दरबारमार्ग पाठशाला, कृष्णपाउरोटी पश्चिम, एयरपोर्ट अगाडि, अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रस्थित पानी ट्याङ्की अगाडि, कोटेश्वर ट्राफिक अगाडि, विभिन्न अस्पताल अगाडि, लोकन्थली, कौशलटार, सातदोबाटो, एकान्तकुनालगायतका ६० स्थानमा ३९७ ट्याक्सी पार्किङ गर्न मिल्नेगरी व्यवस्था मिलाइएको छ ।

नेपाल मिटर ट्याक्सी व्यवसायी संघका अध्यक्ष अर्जुन गौतम उपत्यकामा ट्याक्सी पार्किङका लागि वि.सं २०६९ मा नै अध्ययन गरिसकिएको र सोही अनुसार अहिले महाशाखा र महानगरपालिकाको सक्रियतामा स्थान छुट्याएर राम्रो कामको शुरुवात भएको बताउँछन् ।

शुरुमा ट्याक्सी पार्किङका लागि स्थान छुट्याए पनि बाटो विस्तारका कारण हटेको थियो अहिले पुनः स्थान छुट्याएर राम्रो काम भएको छ–उनले भने । यातायात व्यवस्था विभागले दिएको तथ्यांक अनुसार हाल काठमाडौँ उपत्यकामा झण्डै ११ हजार ट्याक्सी रहेका छन् ।

यस्तै महाशाखा र महानगरपालिकाले मोटरसाइकल तथा कार पार्किङका लागि पनि अल्पकालीन स्थानको व्यवस्था गरेको छ । दरबारमार्ग, रानीपोखरी आयुक्त कार्यालय अगाडि, प्रज्ञाभवन पश्चिमपट्टी, चारखाल परिसर पश्चिम, शंकरदेव क्याम्पस अगाडि, बागबजार पद्ममकन्या क्याम्पस छेउ, २९ वडा कार्यालय अगाडि, खिचापोखरी, धर्मपथ, प्युखा चोक, धरहरा बाटो दक्षिण, कलंकी मालपोत अगाडि, किटा मन्दिर परिसरलगायत ८३ स्थानमा मोटरसाइकल तथा कार पार्किङको अल्पकालीन व्यवस्था गरेको छ ।

काठमाडौँ महानगरपालिकाका सूचना अधिकारी वसन्त आचार्य महानगरपालिका, ट्राफिक प्रहरी महाशाखा, सडक र यातायातका प्रतिनिधि बसेर तत्कालका लागि अल्पकालीन रुपमा पार्किङ व्यवस्थापन गरिएको जनाए ।

तत्कालका लागि तोकिएको स्थानमा पार्किङको व्यवस्था मिलाए पनि दीर्घकालीन रुपका लागि नगरसभामार्फत बनेका कानूनको आधारमा अगाडि बढ्छौँ– उनले भने । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौला सवारी साधन पार्किङका लागि राज्यले छुट्टै क्षेत्र बनाउनुपर्ने बताउँछन् ।

पूर्वाधारको विकास भए मात्र सवारी साधन आवतजावतमा सहजता हुने उनले प्रस्ट्याए । हाल उपत्यकामा मात्र २९८ स्थानमा बसभित्र यात्रु चढाउन तथा ओराल्न मिल्ने गरि व्यवस्था गरिएको छ । तोकिएको स्थानभन्दा अन्य स्थानमा यात्रु चढाउने तथा ओराल्ने गरेमा ट्राफिक प्रहरीले कारबाही गर्ने भएको छ ।

यस्तै गरी महाशाखाले महानगरपालिकासँग मिलेर उपत्यकामा भएका यात्रु प्रतिक्षालयको समेत अध्ययन गरेको छ । उपत्यकाका हाल ३६ स्थानमा प्रतिक्षालय रहेको महाशाखाले जनाएको छ । महाशाखाले गरेको अध्ययन अनुसार उपत्यकामा १०३ स्थानमा यात्रु प्रतिक्षालय आवश्यक ठानिएको छ ।

महाशाखाका प्रमुख वसन्तकुमार पन्त उपत्यकाको ट्राफिक व्यवस्थापन राम्रो बनाउनका लागि महाशाखाले पार्किङ स्थल, प्रतिक्षालय, वैकल्पिक बाटोलगायतको अध्ययन गरिरहेको जनाएका छन् । केही दिन अगाडिमात्र महाशाखाले पर्यटकीय बस पार्किङ क्षेत्रलाई कान्तिपथलाई सोह्रखुट्टेमा स्थानान्तरण गरेको थियो ।

हाल नेपालभर २७ लाखभन्दा बढी ठूला तथा साना सवारी साधन रहेका छन् भने काठमाडौँ उपत्यकामा मात्र झण्डै ११ लाख सवारी साधन आवतजावत गर्छन् । ठूला सवारी साधनलाई भने तोकिएको स्थानमा मात्र बस पार्किङको व्यवस्था गरिएको महाशाखाले बताएको छ ।