ललितपुर, असार २१ । राणाकालमा निर्माण भएको जाउलाखेलस्थित सदर चिडियाखाना आधुनिक बन्दैछ ।
चिडियाखानाकाे भौतिक सुधारसँगै सूचना प्रणालीको प्रयोगमार्फत परिवर्तन हुन लागेको चिडियाखानाले बताएकाे छ ।
चिडियाखानाको जनावरका खोर, भान्सा, कार्यालयलगायतका भवन सबै सुधारका क्रममा रहेको डा चिरञ्जीवी खरेलले बताए । ६० प्रतिशत पुराना संरचनामा पुनःनिर्माण वा मर्मत भइसकेको छ । राणाकालीन संरचना सुधार भएर नयाँ बन्ने क्रममा रहेको छ ।
राणाकालमा बनेका पुराना खोरमध्ये अहिले भालुको खोर एउटा मात्रै बाँकी छ । उनी भन्छन् त्यो पनि हामीले पहिले यस्तो खोर थियो भन्ने यहाँ आउनेलाई देखाउनका लागि राखेका हौँ ।
चिडियाखानामा सूचना प्रविधि डिजिटल प्रविधिमा लैजाने तयारी भइरहेको प्रमुख खरेलले बताए। आगन्तुकले चिडियाखाना छिर्नासाथ भित्रका बारेमा जानकारी पाउन् भन्नका लागि टिकट काउन्टर नजिकै डिस्प्ले राख्न लागिएको छ । आगामी वर्षदेखि सञ्चालनमा ल्याउने गरी योजना अघि बढेको हो ।
उनी भन्छन्- भित्र छिर्नासाथ आगन्तुकले कुन जनावर हेर्ने त्यसका बारेमा र चिडियाखानाका बारेमा विस्तृत जानकारी पाउन सक्छन् । नक्साका आधारमा आगन्तुक आफूले हेर्न चाहेको जनावरको खोरमा पुग्न सक्नेछन् ।
पहिले फोहरले ढाकिएको देखिँदै आएको गोही अब सफा हुने भएको उनी बताउँछन् । स्वचालित उपकरणले पानीले गोही सफा गर्ने गरेर काम भइरहेको छ । यसले गर्दा एकातिर अक्सिजन बढ्ने र अर्कातिर आगन्तुकले सफा गोही हेर्न पाउने छन् । कोइराला भन्छन्-यसले गर्दा आगन्तुकलाई थप आकर्षित गर्ने हाम्रो विश्वास छ ।
पहिले खोरसम्म आगन्तुकले हात पुर्याउने । पुराना खोर जनावरका लागि सहज थिएनन् । अहिले जनावरका लागि नयाँ बनेका नयाँ खोर फराकिला छन् । उनी भन्छन्- जनावरको आवश्यकता अनुसार चिडियाखानामा सुधारको काम भइरहेको हो ।
अहिले चिडियाखानामा खोर वरपर फुटपाथ निर्माणको टेण्डर प्रक्रिया भइसकेको छ । बाघ खोरदेखि टिकट काउण्टरसम्म ढुंगा छाप्न लागिएको हो । यस ठाउँमा पहिले इँटा छापिएको थियो । उनी भन्छन्- ढुंगाले यसलाई प्राकृतिकस्वरुप दिने हुनाले ढुंगा छाप्ने काम भइरहेको हो ।
जनावरका लागि खाना बन्ने मुख्य भान्सा फराकिलो बनाउने काम भइरहेको सहायक क्युरेट गणेश कोइराला भन्छन्- । नयाँ भान्सा आधुनिक छ । ठूलो हुनाले खाना राख्न र पकाउन पुरानो भान्साजस्तो समस्या छैन ।
उनी भन्छन्- पहिले हामीले साँघुरोमा गाह्रो गरेर पकाउने र भाग लगाउने गर्दै आएकामा अहिले त्यो अवस्था छैन । पहिलेको भान्सामा अध्ययनका लागि आउने विद्यार्थी अटाउन मुस्किल पर्दथ्यो । भुर्इँ सफा गर्न सजिलो रहेको उनी भन्छन् । मुख्य भान्साबाट खानालाई छुट्टयाएर बाँड्नका लागि सहायक भान्सा निर्माणको काम अघि बढिरहेको छ ।
यहाँ आउने आगन्तुकका लागि शौचालय बनिरहेको सहायक क्युरेट कोइराला बताउँछन्। अपांगतामैत्री खालको शौचालय आगन्तुकको सहजतालाई ध्यानमा राखेर बनाइएको छ । चिडियाखानाभित्रै दुई ठाउँमा खानेपानीको व्यवस्था हुँदैछ । उनी भन्छन्- हामीले चिडियाखानाको विकाससँगै आगन्तुकलाई पनि सकेसम्म सजिलो वातावरण दिन लागेका छौँ ।
चिडियाखानाले भित्र छिर्नासाथ आगन्तुकले सम्पूर्ण जानकारी एक ठाउँमा पाउन सकून् भन्नका लागि ‘सूचना कक्ष’ निर्माणको योजना बनाइरहेको छ । चिडियाखाना र त्यससँग सम्बन्धित विभिन्न जानकारी आगन्तुकले कक्षमा कम्प्युटर थिचेर आफैँले पाउन सक्छन् । उनी भन्छन्- यहाँ दैनिक दुई/तीन हजार आगन्तुकलाई यो ज्ञानबर्धक हुन सक्नेछ ।
चराको खोर निर्माणका लागि टेण्डर आह्वान भएको छ । अहिलेभन्दा ठूलो र फराकिलो ठाउँ बनाउन लागिएको हो । प्रमुख खरेल भन्छन्- टेण्डर भएपछि धमाधम काम अघि बढ्नेछ । पुरानो भान्सा भएका ठाउँमा आगामी वर्षदेखि नीलगाईको खोर बन्नेछ । स्याललाई एउटा कोठाबाट अर्काे कोठामा सहज होस् भन्नका लागि छिर्ने ठाउँ निर्माण भइरहेको छ । बाँदरको खोर निर्माणको काम भइरहेको छ ।
‘पुतलीको घर’ निर्माणको योजना बन्दैछ । पुतलीको घरमा आगन्तुक भित्र पस्न पाउँछन् । उनी भन्छन्- खुलारुपमा हिँडिरहेका पुतली आगन्तुकको जीउमा समेत हिँड्न सक्छन् । स्रोतका आधारमा योजना बढ्ने उनी बताउँछन् ।
विसं १९८९ मा शुरु भएको चिडियाखानाको व्यवस्थापन २२ वर्षदेखि राष्ट्रिय प्रकृति संरक्षण कोषले गरिरहेको छ । ३० वर्षका लागि संरक्षण गर्ने गरेर सम्झौता भएको थियो । चिडियाखानामा वार्षिक झण्डै ११ लाख आगन्तुक आइरहेका छन् । एकसय २४ प्रजातिका ८३७ वटा जनावर यहाँ रहेका छन् ।
रासस