काठमाडौँ, असार २१ । नेपालको आर्थिक पक्षलाई आधुनिकीकरणमा लैजान नेता गिरिजाप्रसाद कोइरालाको ठूलो योगदान पुर्याएकोे नेपाली काँग्रेसका नेता डा रामशरण महतले बताएका छन् ।
नेपाली काँग्रेसका नेता गिरिजाप्रसाद कोइरालाको ९५औँ जन्मजयन्तीका अवसरमा गिरिजाप्रसाद कोइराला प्रतिष्ठान र गिरिजाप्रसाद कोइराला श्रमिक प्रतिष्ठानले संयुक्त रुपमा आज राजधानीमा आयोजित ‘जिपी र समृद्धि’ विषयको विचारगोष्ठीमा उनले काँग्रेसले आर्थिक उदारीकरणलाई अगाडि बढाएका कारण अहिले मुलुक यस अवस्थामा आइपुगेको समेत प्रष्ट पारे ।
काँग्रेसले मुलुकको आर्थिक नीतिलाई नेतृत्व दिएको बताउँदै काँग्रेस केन्द्रीय सदस्य नवीन्द्रराज जोशीले वर्तमान सरकारले निजी क्षेत्रलाई विश्वासमा लिन नसकेको आरोप लगाए । राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा जगदीशचन्द्र पोखरेलले गिरिजाबाबुमा समृद्धि, आधुनिक र न्यायपूर्ण नेपाल निर्माणको चाहना रहेको प्रष्ट पारे ।
श्रमिक प्रतिष्ठानका उपाध्यक्ष सुधा दाहाल र जिपी प्रतिष्ठानका सदस्य हरि ढुंगानाले स्व कोइराला बहुआयामिक व्यक्तित्व भएको स्मरण गर्दै अहिले मुलुकमा कोइराला जस्तो नेताको अभाव रहेको स्पष्ट पारे ।
श्रमिक प्रतिष्ठानका महासचिव सूर्य नेपालले विसं २०६४ मा नेता कोइराला छँदा नै स्थापना भएको श्रमिक प्रतिष्ठानले गिरिजाबाबुका नाममा थुप्रै सामाजिक काम गर्दै आइरहेको जानकारी गराए ।