कांग्रेसले संसदमा सार्वजनिक महत्वको प्रस्ताव लैजाने

काठमाडौं, असार २२ । प्रमुख विपक्षी दल नेपाली कांग्रेसले स्वास्थ्य क्षेत्रलगायतका विभिन्न माग राखी ६ दिनदेखि जुम्लामा अनशनरत प्रा डा गोविन्द केसीको स्वास्थ्य अवस्था प्रति चिन्ता र चासो राख्दै उनको जीवन रक्षा, उनका माग सम्बोधनको मागसहित संसदमा जरुरी सार्वजनिक महत्वको प्रस्ताव लैजाने जानकारी गराएको छ ।

प्रतिनिधिसभाको बैठक शुक्रबार दिउँसो १ बजे का लागि बोलाइएको छ । बैठकमा सार्वजनिक महत्वको प्रस्ताव लैजान लागिएको कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाँडले जानकारी गराए ।

सरकारले तयार पारेको चिकित्सा शिक्षा विधेयकको कांग्रेसले विरोध गरेको छ र प्राविधिक त्रुटी सच्याउने बाहेक अध्यादेशको हुबहु ल्याउनुपर्ने माग गर्दै आएको छ ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अनसन बस्न चाहेपनि स्थानीय प्रशासनले निषेधाज्ञा जारी गर्दै केसीलाई पक्राउ गरेको थियो ।

प्रहरी हिरासतमै अनसन बसेका उनलाई प्रहरीले खेलकुद कभर्ड हलमा लगेर छाडेको थियो । त्यहीँ अनसनलाई जारी राखेका उनको स्वास्थ्य अबस्था कमजोर भएपछि बिहीबार अस्पताल भर्ना गरिएको छ ।