दिक्तेल–जयरामघाट सडकखण्ड सञ्चालनमा

दिक्तेल, असार २२ । मध्यपहाडी लोकमार्ग अन्तर्गत पर्ने दिक्तेल–जयरामघाट सडकखण्ड १७ घण्टापछिसञ्चालन आएको छ ।

बुधबार राति हलेसी तुवाचुङ नगरपालिकाको ऐतिहासिकस्थल तुवाचुङ जायजुमस्थित बर्खेटारमा पहिरो खस्दा अवरुद्ध बनेको सडक आज साँझबाट सञ्चालनमा ल्याइएको हो ।

सडकमा थुप्रिएको पहिरो पन्छाएपछि सडक सञ्चालन गराइएको हलेसी तुवाचुङ नगरपालिकाका नगर प्रमुख इवन राईले जनाएका छन् ।

पहिरो पन्छाउन नगरपालिका, खोटाङ बृहत् खानेपानी आयोजना, मध्यपहाडी लोकमार्ग अन्तर्गत हलेसी–दिक्तेल सडक कालोपत्रेको काम गरिरहेको सूर्य कन्स्ट्रक्सन र नागार्जुन कम्पनीको एस्काभेटरलाई दिनभर लागेको थियो ।

वर्षायाममा जिल्ला भित्रिने र बाहिरिने एकमात्र दिक्तेल–जयरामघाटको सडक बन्द हुँदा यात्रुहरु अलपत्र परेका थिए ।

अवरुद्ध सडक खुलेपछि मालबाहक सवारी साधन गन्तव्यतर्फ लागेको यातायात व्यवसायी संघ खोटाङका महासचिव रामकुमार हिङ्माङले जानकारी गराए ।