अटिजमका रोगीको संख्या बर्षेनी १५ प्रतिशतका दरले वृद्धि हुँदै

काठमाडौँ, असार २२ । विश्वमा प्रत्येक ५९ जना बालबालिकामध्ये एकजनामा अटिजमको समस्या भेटिए नेपालमा कति बालबालिका यसको शिकार भएका छन् भन्ने कुराको यकिन तथ्यांक छैन ।

वर्षेनी १५ प्रतिशतका दरले अटिजमका रोगी बढ्दै जान थालेकामा यसको उपचारका लागि अहिलेसम्म राज्यले कुनै ध्यान नदिएको सम्बन्धित सरोकारवालाहरुको भनाइ छ । अटिजम हुनुको कारण वंशाणुगतलाई आधार माने पनि अझसम्म यसको मुख्य कारण पत्ता लाग्न नसकेको अटिजम केयर नेपाल सोसाइटीकी अध्यक्ष डा सुनीता मलेकु अमात्यले बताएका छन् ।

यस रोगको लक्षणमा बच्चाले आँखामा आँखा नजुधाउने, एक्लै बस्न रुचाउने, बोलेर आफ्ना कुरा व्यक्त गर्न नसक्ने, शब्द वा वाक्य दोहोर्याउने र फरक ढंगबाट स्नायुजन्य प्रतिक्रियाहरु देखाउने गर्छन् ।

नेपालमा कति बालबालिका यो रोगको शिकार भएका छन् भन्नेतर्फ कुनै अध्ययन नभएको तर केन्द्रले सञ्चालन गरेका विभिन्न तालीम र थेरापीमा आएका बालबालिकाको संख्याका आधारमा करीब तीन लाख रहेको केन्द्रको अनुमान छ ।

विश्व स्वास्थ्य संगठनले विश्वका एक प्रतिशत जनसंख्यामा अटिजमको समस्या रहेको अनुमान गरेको छ । दक्षिण कोरियामा हालै गरिएको एक अध्ययनमा त्यहाँका २.६ प्रतिशत व्यक्तिमा अटिजम रहेको पाइएको छ ।

‘अटिजम भएका बिरामीका लागि सबैभन्दा प्रभावकारी उपचार भनेको उनीहरुमा रहेको कमजोरी पक्षलाई अर्थात् सञ्चार र सामाजिक बुझाईलाई ध्यानमा राखी व्यावहारिक सिद्धान्तका आधारमा शिक्षा प्रदान गर्नु नै हो– डा अमात्यले भने ।

अटिजमका लागि औषधि उपचार नभए पनि उनीहरुमा हुने विशेष लक्षणलाई उपचार गर्न विभिन्न थेरापी र औषधोपचार छ प्रयोग गर्ने भने सकिने उनले जनाएका छन् ।

अटिजमका बारेमा अहिलेसम्म कुनै अध्ययन, उपचार केन्द्रको व्यवस्था नभए पनि पहिलोपटक अपाङ्गता अधिकार ऐन, २०७४ मा अपाङ्गता भएका व्यक्तिलाई १० प्रकारमा वर्गीकरण गरेकामा नवौँ स्थानमा अटिजमलाई समावेश गरेको छ ।