काठमाडौँ, असार २२ । आमरणरत डा गोविन्न केसीको माग सम्बोधन गर्नुपर्ने भन्दै नेपाली कांग्रेसले प्रतिनिधिसभाको दोस्रो बैठक पनि अवरुद्ध गरेको छ ।
डा केसीको उपचार र जीवन रक्षासम्बन्धी सार्वजनिक महत्वको प्रस्ताव संसद्मा छलफलका लागि कार्यसूचीमा ल्याउन माग गर्दै कांग्रेसले दोस्रो बैठक पनि अवरुद्ध गरेको हो ।
संसद्को बैठक शुरु हुने बित्तिकै नेपाली काँग्रेसका सांसदहरु आ–आफ्नो सिटबाट उठिरहेपछि सभामुख कृष्णबहादुर महराले तपाईंहरुको माग अर्को बैठकको कार्यसूचीमा आउने जनाएका छन् ।
नेपाली काँग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूले डा केसीको जीवनरक्षासम्बन्धी सार्वजनिक महत्व संसद्मा दर्ता भएको हुँदा सो प्रस्तावलाई छलफलमा नल्याएसम्म बैठक चल्न नदिने बताए ।
सभामुखको पटक पटकको अनुरोधपछि पनि नेपाली काँग्रेसका सांसदहरु उठिरहेपछि बैठक सोमबारसम्मका लागि स्थगित भएको छ । संसद्को अर्को बैठक असार २५ गते सोमबार दिनको १ः०० बजे बस्नेछ ।