यही २७ गतेदेखि काठमाडौँमा ‘प्रवासी नेपाली युवाको राष्ट्रिय भेला’ हुँदै

काठमाडौँ, असार २४ । ‘प्रवासी नेपाली युवाको राष्ट्रिय भेला’ यही असार २७ गते काठमाडौंमा हुने भएको छ ।

उक्त भेला राष्ट्रिय युवा परिषद्ले राष्ट्रिय सभागृहमा गर्ने भएको छ । सो भेलामा जापान, दक्षिण कोरिया, संयुक्त अरब इमिरेट्स, कतार, बहराइन, साउदी अरब, मलेसियालगायत मुलुकमा लामो समयदेखि बसेर व्यावसायिक सीप, प्राविधिक ज्ञान तथा अर्थोपार्जन गरेका करीब ५०० युवाको सहभागिता रहने जनाइएको छ ।

परिषद्का उपाध्यक्ष माधव ढुंगेलले युवालाई स्वदेशमा लगानी गर्न सक्ने पूर्वाधारको निर्माण तथा स्थानीय तहमा भएका सम्भावना र चुनौतीका विषयमा छलफल गरिने जानकारी दिए ।

रोजगारीका सिलसिलामा विदेश गई अनुभव र पूँजी सञ्चय गरेका युवा स्वदेश फर्केपछि यहाँ गरिने उद्योगले सिर्जना गर्ने रोजगार, सरकारलाई बुझाउने राजश्व, कच्चा पदार्थको संकलन तथा त्यसको आयातमा सहुलियत उपलब्ध गराउने विषयमा छलफल हुनेछ ।

स्वदेशमा उत्पादन हुने वस्तुको लागत तथा त्यसको बजारीकरण गर्ने विषयमा प्रचलित नीति नियमबारे विश्लेषण गरी सरकारलाई आवश्यक सुझाव उपलब्ध गराइने छ ।

भेलामा गरिने अन्तक्र्रिया तथा छलफलबाट आएको विषयवस्तुका आधारमा परिषद्ले आगामी दिनमा स्वरोजगारका क्षेत्रमा नयाँ कार्यक्रम निर्माण गर्नेछ ।