काठमाडौँ, असार २५ । आगामी दिनमा पार्टीलाई बलियो बनाउनका लागि सबै नेता कार्यकर्तालाई एक ढिक्का हुन नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले अनुरोध गरेका छन् ।
आज काँग्रेसका पुराना नेताहरुसँगको अन्तक्र्रिया कार्यक्रममा बोल्दै उनले पार्टीलाई अन्तर्घातमुक्त र अनुशासित बनाई पुरानै अवस्थामा पुर्याउने दृढता व्यक्त गरेका छन् ।
सभापति देउवाले पार्टीलाई सुदृढ गर्न आरोप प्रत्यारोपभन्दा माथि उठेर छलफल गर्नुपर्ने विचार व्यक्त गरेका छन् । वाम गठबन्धन र पार्टीभित्रको अन्तर्घात निर्वाचनमा पार्टी पराजयको प्रमुख कारण रहेको जनाउँदै उनले भने– निर्वाचनमा टिकट एक व्यक्तिले पाउने पायो भन्दैमा नपाउनेले हराउनका लागि लाग्नु त भएन नि ।
टिकट वितरणमा केही कमजोरी भएको स्वीकार गर्दै उनले आफ्नै साथीलाई दुश्मन देखेर अन्तर्घात गर्ने प्रवृत्तिको अन्त्य गर्ने बताए । निर्वाचनमा कांग्रेसले हार्नुको मुख्य कारण प्रधानन्यायाधीशमाथिको महाअभियोग पनि हो भन्ने भनाइको खण्डन गर्दै सभापति देउवाले भने नेपाल प्रहरीको प्रमुख सरकारले नै बनाउने हो ।
प्रहरीको कार्यसम्पादन मूल्यांकनका आधारमै उक्त काम तत्कालीन सरकारले गरेको हो । कार्यक्रममा काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले मुलुकमा अहिलेसम्म काँग्रेसको विकल्प नभएको र आगामी दिनमा आउन सक्नेतर्फ सचेत रहन नेता कार्यकर्तालाई अनुरोध गरेका छन् ।
काँग्रेसमा स्थापनाकालदेखि नै गुट रहेको प्रसंग निकाल्दै उनले गुटलाई व्यवस्थापन गर्नुपर्ने धारणा राखे । पार्टीमा निष्पक्ष न्याय र मूल्यांकनको व्यवस्था गर्नुपर्ने आवश्यकता रहेको भन्दै उनले पार्टीमा सुधारका लागि आत्मचिन्तन गर्नुपर्ने बताए ।
वर्तमान सरकार कर्मचारी र लोकतन्त्र पक्षधरलाई तर्साएर सामाजिक फाँसीवादतर्फ उन्मुख रहेको जनाउँदै वरिष्ठ नेता पौडेलले मुलुक र लोकतन्त्र बचाउन पनि काँग्रेस बलियो भएर उभिनुपर्ने धारणा प्रस्तुत गरे ।
कार्यक्रममा काँग्रेस नेता विजयकुमार गच्छदारले गुट उपगुटयुक्त काँग्रेसले मुलुकको वर्तमान चुनौतीको सामना गर्न नसक्ने उल्लेख गर्दै सबै एकढिक्का भएर पार्टीलाई बलियो बनाउनुपर्ने विचार राखे । आफू सदैव लोकतन्त्र स्थापना र सुदृढीकरणका लागि लडेको बताउँदै उनले लोकतन्त्र जोगाउनकै लागि आफू तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) सँग सहकार्य गर्न छोडेर काँग्रेसमा फर्केको स्मरणसमेत गराए । उ
नले तत्कालीन मधेशी जनाधिकार फोरम (लोकतान्त्रिक) का हजारौँ नेता कार्यकर्ताको व्यवस्थापनका लागि एकीकरणका बेला भएका सहमति कार्यान्वयन गर्न नेतृत्वसँग माग गरे ।
पार्टीका कोषाध्यक्ष सीतादेवी यादवले अग्रजहरुको विचार मननयोग्य भएकाले आत्मसात् गरी आगामी दिनमा सबै सुध्रिने बाटोमा अघि बढ्नुपर्ने बताइन् ।
काँग्रेस नेता डा नारायण खड्काले काँग्रेस सुदृढीकरणका लागि पार्टीमा लामो समय योगदान गरेका पुराना नेताका अनुभव महत्वपूर्ण हुने भन्दै पार्टी अफ्ठ्यारो परिस्थितिमा भएका बेला उनीहरुका अनुभवबाट सिक्नुपर्ने विचार प्रस्तुत गरे ।
कार्यक्रममा पार्टीका पुराना नेताहरु ओमकार श्रेष्ठ, उत्तमनारायण श्रेष्ठ, तारानाथ रानाभाट, दामोदर गौतम, विपिन कोइराला,गोविन्दराज जोशी, विनयध्यज चन्द, चिरञ्जीवी वाग्ले, तीर्थराम डंगोल, दामोदर गौतम, विपिन कोइराला, रामबहादुर गुरुङ, श्यामलाल श्रेष्ठ, हीरादत्त भट्ट, तिलकप्रसाद न्यौपानेले पार्टीमा देखिएका समस्या केलाउँदै सुदृढीकरणका लागि सुझाव दिएका थिए ।