‘समझदारी अनुसार ज्याला उपलब्ध गराउनुपर्ने’

काठमाडौँ, असार २६ । वैदेशिक रोजगारीका लागि जाने श्रमिकलाई सम्बन्धित वैदेशिक रोजगार कम्पनीसँग समझदारी भए अनुसार काम र ज्याला उपलब्ध गराउनुपर्ने नेपाल कम्युनिष्ट पार्टीका नेता तथा प्रदेशसभा सदस्य पशुपति चौलागाईंले बताएका छन् ।

सोमबार अखिल नेपाल वैदेशिक रोजगार पीडित तथा परामर्श संघले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले यस व्यवसायलाई सुरक्षित, मर्यादित र व्यवस्थित बनाउन श्रमिकलाई सम्झौता अनुसारको कार्य नगर्ने कम्पनीलाई सरकारले दण्डित गर्नुपर्ने बताएका हुन् ।

कीर्तिमानी आरोही आङकामी शेर्पाले वैदेशिक रोजगारमा गएर ठगिएका पीडितलाई निरन्तर सहयोग दिने उद्देश्यले स्थापित गरेको सो संस्थासँग आफूले सहकार्य गर्ने बताए ।

विदेशमा रहेका नेपाली श्रमिक कुनै पनि रुपमा ठगिएर आफ्नो संस्थामा उजुरी आए उनीहरुलाई न्याय दिन आफूहरु क्रियाशील रहेको संघका अध्यक्ष दीपक राउत क्षेत्रीको भनाइ छ ।

सो कार्यक्रममा संस्थाले प्रकाशित गरेको स्मारिका पनि विमोचन गरिएको थियो ।