भक्तपुर, असार २६ । सरकारले आफ्नो अधिकार प्रयोग गर्दा सरकारलाई अधिनायकवाद भन्नु गलत भएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रमुख सचेतक देव गुरुङले बताएका छन् ।
आज रफत सञ्चार क्लबद्वारा भक्तपुरमा आयोजित कार्यक्रममा बोल्दै उनले जनताको विरोध गर्ने अधिकार मौलिक हक भएपनि विरोध गर्ने निश्चित स्थान तोक्नु सरकारको अधिकार भएको बताए ।
विरोध नै गर्न नपाइने गरी निषेध गरिएको होइन, विरोध गर्ने निश्चित स्थान तोकिएको हो, लोकतान्त्रिक पद्धति अनुसार सरकारले आफ्नो अधिकार प्रयोग गर्दा अधिनायकवाद भन्नु गलत हो– उनले भने ।
उपकुलपति कुलप्रसाद कोइरालाको भ्रमण सरकारको स्वीकृतिबिना नै भएकाले रोकिएको जनाउँदै उनले भने– कोइराला विधि अनुसार नचलेकाले यस्तो अवस्था आएको हो, कोइरालाले देशको कानून भन्दा बाहिर गएर काम गर्न खोजेको पाइयोे, सरकारसँग स्वीकृति नै नलिइ विदेश भ्रमणमा जान लागेकाले रोकिएको हो ।
चिकित्सा विधेयककाबारे जुम्लामा अनशनरत गोविन्द केसीको जायज माग जनाताको सर्वोच्च निकाय संसद्ले सम्बोधन गर्ने भन्दै उनले सबै माग हुबहु सम्बोधन भने नहुने बताएका छन् ।
सरकार केसीको स्वास्थ्य अवस्थाप्रति गम्भिर रहेको चर्चा गर्दै गुरुङले केसीको उपचार काठमाडौँं ल्याएर गर्न सरकारले प्रयास गर्दा केसी नै आउन नमानेको जनाएका छन् ।
पेट्रोलियम पदार्थमा नेपालको पहुँच नहुनु र छिमेकी देशसँग आत्मनिर्भर हुनुपर्ने बाध्यता रहेकाले नेपालको बजारमा हुने मूल्य वृद्धि नियन्त्रण गर्न कठिनाइ भएको उनले बताए ।
भारतबाट मात्रै नभइ चीनबाट पनि इन्धन खरिदको प्रक्रिया अघि बढाउन सरकारले प्रयास गरिरहेको उनले प्रस्ट पारेका छन् ।