आजको बैठकबाट नेकपाको नियमावली पारित

काठमाडौँ, असार २७ । आज बसेको नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठकले पार्टीको नियमावली पारित गरेको छ ।

नियमावलीलाई अन्तिम रुप दिनका लागि प्रधानमन्त्री निवास बालुवाटारमा सम्पन्न बैठकले एकतापछिको अन्तरिम विधानबमोजिम उक्त नियमावली पारित गरेको हो ।

नियमावली पारित भएसँगै मातहतका संगठनको एकता प्रक्रियालाई अगाडि बढाउन सचिवालय बैठकले समयबद्ध कार्ययोजना बनाउने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।

यसबारे पुनः बिहीबार सचिवालय बैठक बस्नेछ । स्थायी कमिटीको बैठकमा प्राप्त सुझावका आधारमा नियमावलीको अन्तिम मस्यौदा तयार गर्न नेताहरु वामदेव गौतम, रामबहादुर थापा र विष्णु पौडेल रहेको कार्यदलले दिएको प्रतिवेदनलाई बैठकले अनुमोदन गरेको हो ।

सो नियमावली प्रकाशन हुनेछ । नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच गत जेठ ३ गते एकता भई नेकपा गठन भएको थियो ।

एकताको तीन महिनाभित्र प्रदेश, जिल्ला कमिटी, प्रभास र जनसंगठनको एकता सक्ने पार्टीले घोषणा गरेको छ ।