काठमाडौँ, असार २७ । रसियामा जारी फिफा विश्वकप–२०१८ अन्तर्गतको दोस्रो सेमिफाइन खेलमा आज क्रोएसिया र इङ्ग्ल्याण्ड भिड्ने भएका छन् ।
विश्वकपमा दुवै टोली विजय गर्ने लक्ष्य लिएर आज राति ११ः४५ बजे भिड्दैछन् । सेमिफाइनलसम्मको यात्रा तय गर्दा क्रोएसिया अपराजित छ भने इङ्ग्ल्याण्ड समूह चरणमा बेल्जियमसँग पराजित भैसकेको छ ।
क्वाटरफाइनलमा क्रोएसियाले आयोजक रसियालाई ट्राइब्रेकरमा ४–३ गोलअन्तरले हराइसकेको छ भने इङ्ग्ल्याण्डले स्विडेनलाई २–० ले पछि पार्दै सेमिफाइनलसम्मको यात्रा तय गरेको हो । सन् १९९८ को विश्वकपमा प्रवेश गरेको क्रोएसिया त्यतिबेला नै सेमिफाइनलसम्म पुगेको थियो । त्यसयता क्रोएसिया सेमिफाइनलसम्म पुग्न सकेको छैन ।
विश्वकपमा क्रोएसियाले दोस्रो पटक सेमिफाइनल खेल्दैछ । सन् १९९० मा पछिल्लो पटक सेमिफाइनल खेलेको इङ्ग्ल्याण्ड सन् १९६६ को विश्वकप विजेता हो भने इङ्ग्ल्याण्डको यो खेल तेस्रो सेमिफाइनल हो ।
अहिले विश्वकपमा क्रोएसिया र इङ्ग्याण्ड पहिलो पटक भिड्न लागेको हो । यसअघि सन् २००४ को भएको युरोकपमा इङ्ग्ल्याण्डले क्रोएसियालाई ४–२ गोलअन्तरले हराएको थियो ।
यी दुई टोलीले अहिलेसम्म सात खेल खेलेकामा इङ्ग्ल्याण्डले ४ खेल जितेको छ भने क्रोएसियाले दुई खेल जितेको छ । यी दुई टोली क्रोएसिया र इङ्ग्लयाण्डबीचका विजेताले फाइलनमा फ्रान्ससंग सामना गर्नेछन् ।