आर्थिक समृद्धिका लागि सहयोग गर्न विश्व बैंकलाई अनुरोध

काठमाडौँ, असार २८ । नेपालले आर्थिक समृद्धिको यात्रा तय गरेकाले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले थप लगानीका लागि विश्व बैंकलाई अनुरोध गरेका छन् ।

आज शिष्टाचार भेटका लागि उनकै निवास पुगेको विश्व बैंकका प्रतिनिधिलाई सो अनुरोध गरेका हुन् । बैंकका प्रतिनिधि तथा देशीय निर्देशक हदाद–जर्वोसलाई आर्थिक समृद्धिका लागि सहयोग गर्न अध्यक्ष दाहालले अनुरोध गरेका उनको सचिवालयले बताएको छ ।

अध्यक्ष दाहालले नेपालको इतिहासमा ७० वर्षपछि राजनीतिक स्थिरता कायम भएको भन्दै आर्थिक विकासका लागि सुवर्ण अवसर भएको बताएका छन् । उनले नेपालको समृद्धिको अभियानमा आफूहरुले विश्व बैंकबाट सल्लाह, सहयोग र सहकार्य चाहेको बताए । हामीसँग तीन वटा (स्थानीय, प्रादेशिक र संघीय) सरकार रहेका छन्, हामी हाम्रा प्राथमिकता निर्धारण गर्छौं, जनताले प्रत्यक्ष अनुभूत गर्ने विकास योजना नै हाम्रा प्राथमिकतामा रहनेछन्– अध्यक्ष दाहालले भने ।

उनले नेपालको विकासका प्राथमिकतामा ठूला जलविद्युत् परियोजना र पर्यटनका साथै मुख्य रुपमा कृषिमा आधारित उद्योग नै रहेको बताए । उक्त अवसरमा देशीय निर्देशक जर्वोसले नेपालमा राजनीतिक स्थिरता कायम भएको भन्दै प्रशन्नता व्यक्त गरे ।

उनले आफूहरुसँग विभिन्न देशका आर्थिक विकासका अनुभव रहेको बताउँदै ती अनुभव नेपालको विकासका लागि पनि उपयुक्त हुने जनाए । हामी पूर्वाधार विकासमा केन्द्रित हुन्छौँ र सरकारको मातहत बसेर काम गर्छौं, तपाईहरुको प्रगति नै हाम्रो प्रगति हो– जर्वोसले भने ।

नेपालको विकास उच्च प्राथमिकतामा रहेको भन्दै उनले कृषिमा आधारित उद्योगको पूर्वाधार निर्माणमा सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।