‘चीनसँगको सम्बन्धलाई गैंडा उपहारले अझ बलियो बनाउने’

काठमाडौँ, असार २८ । छिमेकी मित्रराष्ट्र चीनलाई हस्तान्तरण गरिएको एक जोडी गैंडा उपहारले आपसी सम्बन्ध थप प्रगाढ भएको प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन् ।

नेपाल सरकारबाट मित्रराष्ट्र जनवादी गणतन्त्र चीन सरकारलाई एक जोडी एक सिंगे गैंडा (भद्र र रुपसी) उपहार हस्तान्तरण समारोहमा बोल्दै उनले आपसी भेटघाट आदानप्रदानले चीनसँगको ऐतिहासिक सम्बन्ध अझ बलियो बन्दै गएको विचार व्यक्त गरे ।

प्रधानमन्त्री ओलीले केही समयअघिको आफ्नो चीन भ्रमणका क्रममा उच्चस्तरीय भेटघाट भएको सम्झना गर्दै भ्रमणका बेला भएको पारवहन र यातायातसम्बन्धी सम्झौता कार्यान्वयनको काम दु्रतगतिमा अघि बढेको बताए ।

भृकुटी र अरनिकोबाट अगाडि बढेको नेपाल–चीनबीचको सम्बन्धलाई यो उपहार (भद्र र रुपसी)ले थप बलियो बनाएको प्रधानमन्त्री ओलीले प्रस्ट पारे । चीनलाई हस्तान्तरण गरेका गैंडालाई चीन सरकारले उचित वातावरणमा हुर्किने प्रवन्ध गर्ने अपेक्षासहित उनले मुलुकको भौगोलिक र जैविक विविधतामार्फत विभिन्न देशसँग नेपालको सम्बन्ध गहिरो भएको उल्लेख गरे ।

नेपाल सरकार मन्त्रिपरिषद्को वि.सं २०७३ असार २६ गतेको बैठकबाट चीन सरकारलाई दुई जोडी गैंडा उपहार स्वरुप प्रदान गर्ने निर्णय अनुसार एक जोडी गैंडा हस्तान्तरण गरिएको हो । अर्काे जोडी गैंडा आगामी साउन महिनाभित्र हस्तान्तरण गरिसक्ने जनाइएको छ ।

कार्यक्रममा प्रधानमन्त्री ओलीले साइटिस निर्यात प्रमाणपत्र र प्रजाति उत्पत्ति प्रमाणपत्रसहित एक जोडी गैंडा नेपालका लागि चिनियाँ राजदूत यु होङ मार्फत चीन सरकारलाई हस्तान्तरण गरेका थिए । कार्यक्रममा वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले गैंडा हस्तान्तरण कार्य बहुआयामिक महत्वको भएको भन्दै यसले आगामी दिनमा नेपालको पहिचानको चर्चा विश्वमा अझ बढ्ने विचार प्रस्तुत गरे ।

उनले यो कामले आगामी दिनमा दुई देशबीच अझ सुमधुर सम्बन्ध कायम भई वन्यजन्तु र जैविक विविधता संरक्षणमा थप सहयोग र समन्वय हुने अपेक्षा राखेका छन् । दुवै गैंडालाई आजै साँझ चीनबाट आउने कार्गाे विमानमा राखेर लैजाने र गैंडालाई चीनको गोन्जाउ प्रान्तको चेमोलोङ सफारी पार्कमा प्राकृतिक वातावरणमा राखिने चिनियाँ दूतावासले बताएको छ ।

कार्यक्रममा चिनियाँ राजदूत यु होङले गैंडा उपहार चीन सरकारका लागि विशेष उपहार भएको भन्दै सो गैंडा उचित वातावरणमा आफ्नै घर ठानेर हुर्किने विश्वास लिएको बताए । चीन र नेपालबीचको भेटघाट र आदानप्रदानले सम्बन्धमा थप बलियो, प्रगाढ र विस्तार हुँदै गएको बताए ।

वन्यजन्तु संरक्षण एवं प्रवद्र्धनका लागि नेपाल सरकारद्वारा हालसम्म मित्रराष्ट्र भारत, संयुक्त राष्ट्र अमेरिका, जापान, थाइल्याण्ड, अष्ट्रियालगायत मुलुकलाई २६ वटा गैंडा उपहारस्परुप दिइसकेको छ ।

कार्यक्रममा प्रतिनिधिसभा सदस्य एवं पूर्ववनमन्त्री अग्निप्रसाद सापकोटा, राष्ट्रिय योजना आयोगका सदस्य डा कृष्णप्रसाद ओली, वन सचिव डा विश्वनाथ ओली, निकुञ्ज विभागका महानिर्देशक मनबहादुर खड्का, नेपाली सेनाका कायममुकाय प्रधानसेनापति पूर्णचन्द्र थापा, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका प्रमुखलगायतको उपस्थिति रहेको थियो ।