चितवन, असार २९ । नेपालको कम्युनिष्ट शक्तिलाई कमजोर बनाउनका लागि स्वदेशी र विदेशी शक्ति लागिपरिरहेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बताएका छन् ।
शारदा स्मृति प्रतिष्ठान र जनसांस्कृतिक महासंघ चितवनद्वारा आज आयोजित पुरस्कार वितरण तथा सांस्कृतिक कार्यक्रममा बोल्दै उनले कम्युनिष्ट शक्तिलाई कमजोर पार्नका लागि ठूलो कसरत भइरहेको बताए ।
सोभियत संघ र पूर्वी युरोपका समाजवादी देशहरुको विघटनपछि पश्चिमा पूँजीवादी शक्तिहरुले कम्युनिष्ट आन्दोलनकै अवसान भयो भन्ने गरेको बताउँदै उनले इतिहासकै अन्त्य भयो भनेर प्रचार गर्दै गर्दा सबैभन्दा अग्लो टाकुराको देशबाट जनताको मतद्वारा दुई तिहाइको स्थितिमा आउनु उनीहरुका लागि आश्चर्यजनक भएको बताए ।
विश्वका धेरै कम्युनिष्ट नेताहरुसँग कुरा गर्दा नेपालमा कम्युनिष्टहरुको अहिलेको गतिविधि संसारभरिका लागि प्रेरणादायी रहेको बताएको पनि उनले जनाए । यसले आफूहरुलाई जिम्मेवारी र गौरव बढेको र चुनौती थपिएको अध्यक्ष दाहालको भनाइ थियो ।
उनले अर्को एक प्रसंगमा पार्टी एकीकरणपछिको विधान नियमावली टुङ्गिएको र साउन महिनाभरिमा सबै एकताका प्रक्रिया टुङ्ग्याउने बताए । भदौ र असोज महिनामा देशभर प्रशिक्षण गर्ने, सभा सम्मेलन गर्ने र सरकारका सकारात्मक कामका बारेमा जनतासम्म पुर्याउने अध्यक्ष दाहालको भनाइ छ ।
उनले खम्बसिंह कुँवरजस्ता योद्धाका कारण पार्टी यो अवस्थामा आइपुगेको भन्दै उहाँहरुको सम्मानमा कहिल्यै पनि नचुक्ने बताएका छन् । उक्त अवसरमा ‘शारदा स्मृति पुरस्कार’बाट कम्युनिष्ट नेता खम्बसिंह कुँवरलाई पुरस्कृत एवं सम्मानित गरिएको थियो । उनीहरुलाई रु २० हजार नगदसहित सम्मान गरिएको थियो ।
त्यसैगरी ‘डिल्लीराम धनसरा प्रतिभा पुरस्कार’बाट प्रगतिशील लेखक संघ चितवनका अध्यक्ष सुमन श्रेष्ठलाई रु पाँच हजार नगद पुरस्कारसहित सम्मान गरिएको थियो ।
सोही कार्यक्रममा गायक स्व खुसिराम पाख्रिनकी श्रीमती सुकमायाँ तामाङलाई रु १५ हजार नगदसहित सम्मान गरिएको थियो । उनीहरुलाई अध्यक्ष दाहालले सम्मान गरेका थिए ।
शारदा स्मृति प्रतिष्ठानका अध्यक्ष श्यामसुन्दर पन्तको अध्यक्षतामा भएको कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य ईश्वरी भट्टराई, प्रदेशसभा सांसद कृष्ण खनाल, लेखक इन्द्र रेग्मीलगायतले आ–आफ्नो धारणा व्यक्त गरेका थिए ।