काठमाडौँ, असार २९ । मानव संशाधन विकासका लागि जापान सरकारले रु २७ करोड ४१ लाख अनुदान प्रदान गर्ने भएको छ ।
सार्वजनिक सेवामा दक्ष जनशक्ति तयार पार्ने उद्देश्यका साथ जापानका नाम चलेका विश्वविद्यालयमा स्नातकोत्तर तहको अध्ययनका निम्ति छात्रवृत्ति उपलब्ध गराउनका लागि सो अनुदान उपयोग गरिनेछ ।
अर्थशास्त्र, सार्वजनिक नीति, औद्योगिक विकास तथा कानूनी नीतिजस्ता विषयमा निजामती सेवाका कर्मचारीले छात्रवृत्ति पाउने छन् । जापानले विगत तीन वर्षदेखि सो छात्रवृत्ति प्रदान गर्दै आएको छ । २० जना नेपाली विद्यार्थीको तेस्रो खेप जापानी विश्वविद्यालयमा अध्ययनका निम्ति छनोट भइसकेका छन् ।
आज अनुदान सहायतासम्बन्धी समझदारीपत्रमा अर्थमन्त्रालयमा आयोजित एक कार्यक्रममा अर्थसचिव राजन खनाल र नेपालका लागि जापानका राजदूत मासामिची साइगोले हस्ताक्षर गरेका छन् ।
राजदूत साइगोले छात्रवृत्ति प्राप्त गर्ने विद्यार्थीले जापान र नेपालबीचको सम्बन्धलाई अझ सुदृढ बनाउनाका साथै नेपालको आर्थिक, सामाजिक विकासमा पनि महत्वपूर्ण भूमिका निभाउने विश्वास व्यक्त गरे ।
सचिव खनालले नेपालको विकास प्रयासमा निरन्तर सहायता प्रदान गरेकामा जापान सरकारप्रति आभार व्यक्त गर्दै आगामी दिनमा जापानबाट विकास सहयोग अझ बढ्ने विश्वास व्यक्त गरेका छन् ।