वि.सं. २०२९ माघ ५ बुवा तेज प्रसाद गौतम र आमा यत्न कुमारी गौतम ढकालको कोखबाट ओखलढुंगामा जन्मिनुभएका बाबुराम गौतम २०४६ सालको जनआन्दोलनबाट नेपाल कम्युनिष्ट पार्टीको सक्रिय राजनीतिमा होमिनु भएको हो । २०४७ सालमा अनेरास्ववियु सर्लाही जिल्लाको कमिटी सदस्य, २०५० मा सजमो ओखलढुंगा काठमाडौं सम्पर्क मञ्चको सचिव, २०५२ मा नेकपा माओवादी काठमाडौंको सक्रिय सदस्य भई वानेश्वर क्षेत्रमा नेतृत्वदायी भुमिका निभाउनुभएको थियो । साथै अखिल नेपाल ट्रेड युनियन महासंघको ललितपुर जिल्ला अध्यक्षमा रही निकै नै उपलब्धीमूलक कामहरु गर्दै केन्द्रिय सदस्य एवं उपाध्यक्ष भएर लामो समय समाजसेवा र राजनीतिमा सक्रिय गौतमले पटक पटक गरी चार पटक जेल जीवन बिताउनुभएको छ । हाल ओखलढुंगा जिल्ला कमिटी पूर्व माओवादी केन्द्रको इन्चार्ज रहेका बाबुराम गौतमसँग लोकसत्ताका लागि गरिएका संक्षिप्त कुराकानी :
वर्तमान राजनीतिको कसरी विश्लेषण गर्नुहुन्छ ?
इतिहासमा पहिलो पटक बामपंथीहरुको बहुमतमा सरकार गठन भएको छ । अस्थिर सरकार जुन छ/छ महिनामा परिवर्तन हुँदा कुनै पनि कामको जबाफदेही कोहि बन्नु नपर्ने अबस्थाको अन्त्य भएको छ । २०४६ सालको परिवर्तनपछि समग्रमा तेस्रोपटक बामपंथीहरुको बहुमतमा पहिलो पटक पुर्ण बहुमतीय सरकार गठन भएकाले यो सरकारसँग जनताको आकांक्षा बढी हुनु स्वभाविक हो । हरेक गरिबीको रेखामुनिका जनताको चिसो चुलो बाल्ने र दुइ छाक हातमुख जोड्न सहज बाताबरण बनाउनु यो सरकारले पहिलो कामको रुपमा लिनुपर्दछ । दोस्रो बिकास निर्माण कार्यलाई तिब्रता दिई नेपाली जनताको बिकासको चाहनालाई पुरा गर्नु नै हो । तेस्रो नेपाली राष्ट्रियताको सम्बद्र्धन गरि समग्र नेपाली जनताको शिर उचो राख्नु यस सरकारको दायित्व बन्दछ । यस सरकारले उक्त दिशामा अगाडि बढ्न सके सफल हुनेछ भने नेपाली जनता समृद्धिको दिशामा अघि बढ्ने छन् ।
तपाईंको विचारमा बर्तमान सरकार समृद्धिको दिशामा अग्रसर छ ?
मेरो विचारमा यो सरकार समृद्धितर्फ अगाडि बढ्नै पर्दछ । नेपाली जनताको अभिमतमा काम गर्नकै लागि यो सरकार आएको हो । बिगतका गल्तीबाट शिक्षा लिइ आगामी दिन सफल बन्ने हो भने छ बर्षमा निकै काम गर्न सकिन्छ । यसका लागि राष्ट्रिय महत्वका पूर्व पश्चिम र उत्तर दक्षिण जोड्ने रणनीतिक महत्वका सडकहरुको निर्माण तदरुकताका साथ गर्न जरुरी छ । उपलब्ध अपार जलस्रोतको उपयोग गरि बिद्युतिय उत्पादनका क्षेत्रमा कायाकल्प ल्याउन जरुरी देखिन्छ छ । कृषि र पर्यटनको क्षेत्रमा उल्लेख्य प्रगति गरि देशलाई छिटोभन्दा छिटो एउटा मापदण्डमा पुर्याउनु आवश्यक छ । जनताको नजरमा केपि कमरेडको नेतृत्वको सरकार इतिहासकै निरस निरन्तरता हो कि माहान अग्रगामी सरकार त्यो त भबिष्यले देखाउनेमा हामी विश्वस्त छौं ।
सरकार अधिनायकवादतर्फ अग्रसर छ भन्ने प्रतिपक्षको आरोप सुनिन्छ नि यसबारे के भन्नुहुन्छ ?
पहिलो कुरा यो सरकार आफै चुनावबाट आएको सरकार हो । संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान २०७२ बमोजिम गठन भएको यो सरकारले त्यो घेरा नाघ्न किमार्थ सम्भावना हुन्न र छैन । विपक्षी दलका मित्रहरूलाई यसतर्फ आशंका नगर्न अनुरोध गर्न चाहान्छु । जहाँसम्म सरकार सञ्चालनमा आएका केहि बिमतिको कुरा छ स्वभाबिक छ । सबै कुरा मिल्यो भने दल अलग किन चाहिन्थ्यो र ? आफ्नो दलको घोषणा पत्र, प्रतिबद्धता र नीतिगत निर्णयका आधारमा हरेक सरकारहरु चल्ने हुन् सत्य त्यही नै हो ।
ओखलढुंगाको बिकासलाई कसरी तीब्रता दिने सोचमा हुनुहुन्छ ?
ओखलढुंगा जिल्ला बिकासका दृष्टिले निकै पछि परेको जिल्ला हो भन्दा फरक पर्दैन । सडक सञ्जालको पहुँचको कमि, ग्रामीण बिद्युतिकरण कृषिको व्यवसायिकरण गरि उत्पादनमा गुणात्मक वृद्धि गर्न जरुरी छ । उपल्लो भु–भागमा जडिबुटी, मध्ये भागमा तरकारी तथा फलफुल तथा तल्लो तटीय क्षेत्रमा अन्न बालीको व्यवसायिक खेतीमा किसानलाई प्रोत्साहन गर्नुपर्दछ । पर्यटनको प्रबद्र्धन गरि गरिब जनताको आय आर्जन वृद्धि गर्न आवश्यक छ । ओखलढुंगाको दुधकोशी र सुनकोसी किनारतिर सुख्खा ग्रस्त क्षेत्रमा खानेपानीको समस्याले बिकराल रुप लिएको छ जसलाइ छिटोभन्दा छिटो समाधान गर्न जरुरी छ । यस बाहेक थुप्रै साना ठुलो आयोजनाहरु जस्तो लिखु मोलुङ र दुधकोशी एकवार सडक सम्पन्न गर्नुपर्ने, साघुटार ओखलढुंगा रबुवा सडकसहित प्रत्येक वडासम्म सडकको पहुँच पुर्याउनु आवश्यक देखिन्छ । त्यस्तै जलस्रोतको अपार भण्डारलाई उपयोगमा ल्याई बिद्युतिय उत्पादन गरि समग्र जिल्लाको नक्सा बदल्न अहिलेको समयमा निकै चुनौति भए पनि यी कामहरुलाई तत्काल सम्पन्न गर्न जरुरी देखिन्छ । त्यसको लागि जिल्लामा क्रियाशील राजनीतिक दलहरु र राज्यकोषबाट तलबमा काम गर्ने कर्मचारी संयन्त्रले दृढता देखाउन आवश्यक छ ।
तपाईहरुको पार्टी भर्खरै एकता प्रक्रियामा सामेल भई नेकपा गठन भएको छ । एकता प्रक्रिया जिल्लामा कसरी अगाडि बढीरहेको छ ?
इतिहासमा करिब छ/छ बर्ष अघि फुटेका नेकपाका दुई मुल धारहरु लामो समयपछि एकजुट भएका छन । गुणका दुई भिन्न सार बोकेका यि दुई पार्टी एक ठाँउ आउने कुरा केहि महिना अघिसम्म पनि असम्भव जस्तै लाग्दथ्यो । राजनीतिमा असम्भव भन्ने हुदोरहेनछ । समय बलवान् भन्नुपर्छ हामी एक ठाँउ आइपुगेका छौं । केन्द्रिय समितिले आकार लिइसकेकाले छिटो नै प्रदेश नेतृत्व टुंगोमा पुग्ने हुँदा अबका एक दुई हप्तामा जिल्ला कमिटी बनिसकेको हुनेछ ।
नेकपामा तपाईंको जिम्मेवारी के हुनेछ ?
यति ठुला दुई दल एकता प्रक्रियामा सामेल हुँदा पक्कै सबैलाई ठाँउ पुर्याउन सकिँदैन थियो । तर नेकपाको केन्द्रिय समितिको गठन गर्दा पूर्व माओवादी केन्द्रले जे–जस्ता नामहरु समावेश गरि म सहित सिङ्गो ओखलढुंगालाई छुट्टयाइएको छ त्यो किमार्थ जायज छैन । यो सिङ्गो ओखलढुंगाका जनता माथिको अन्याय हो । यसै कारण म सहित ८७ जना माओवादी केन्द्रका पूर्व पिबिएमहरुले अध्यक्ष कमरेड समक्ष फरक मत दर्ज गरेका छौं । जहाँसम्म अब कुन जिम्मेवारी लिने भन्ने कुरा छ यसबारे बोल्न हतार नगरौं जस्तो लाग्छ । पार्टीले दिएको जिम्मेवारी पुरा गर्न प्रतिबद्धता व्यक्त गर्दछु ।
अरु केहि भन्नू छ कि ?
तपाईंको लोकप्रिय मिडियाले हाम्रो बिचार जनसमक्ष पुर्याउने अबसर दिनु भएकोमा लोकसत्ता परिवारलाई हार्दिक धन्यवाद दिन चाहान्छु । साथै तपाईंहरुको उत्तरोत्तर प्रगतिको लागि सुभकामना व्यक्त गर्न चाहान्छु ।