राजधानीभित्रको यात्रामा हुनुहुन्छ भने होसियार

काठमाडौं असार ३१ । के तपाईँ राजधानीका सडकको यात्रामा हुनुहुन्छ यदि हुनुहुन्छ भने जेब्रा क्रसिङ वा आकाशे पुलबाट मात्र बाटो काट्नुहोस् ।

जेब्रा क्रसिङ वा आकाशे पुल बाहेकको स्थानबाट बाटो काट्नु भयो भने तपाईंले ट्राफिक प्रहरीबाट बाटो कसरी काट्ने भन्नेबारेमा तालिम लिनु पर्नेछ । जेब्रा क्रसिङ र आकाशे पुलबाट मात्रै बाटो काट्ने बानीको विकास गराउनका लागि महानगरीय ट्राफिक प्रहरी महाशाखाले यस्तो खालको अभियान शुरु गरेको हो ।

उपत्यकाका विभिन्न चोकहरुमा जेब्राक्रस तथा आकाशे पुलको प्रयोग नगर्ने पैदलयात्रुलाई सडक पेटीमा ल्याएर प्रशिक्षण दिने निर्णय भएको महाशाखाका प्रमुख एसएसपी वसन्त पन्तले बताए । पन्तका अनुसार त्यस किसिमका प्रशिक्षण दिनमा दुई पटक हुनेछ । ‘बिहान ९ बजेदेखि ११ बजेसम्म र दिउँसो ४ बजेदेखि साढे ६ बजेसम्म प्रशिक्षण दिइने उनले जनाएका छन् ।

हाल काठमाडौंको नागस्थान माथिल्लो र तल्लो, न्यू रोड गेट, वीर अस्पताल, भोटाहिटी, जमल, रणोद्धिप, पुरानो बसपार्क, भद्रकाली, नयाँ बसपार्क लगायतमा आकाशे पुल रहेका महाशाखाले बताएको छ ।

ट्राफिकले प्रशिक्षण दिनका लागि १२ जना प्रहरी निरीक्षकको नेतृत्वमा एक/एक जना जुनियर अधिकृतलाई परिचालन गरिने भएको छ ।

जस अनुसार ठिमीमा प्रहरी निरीक्षक जगत नेपाली, कोटेश्वरमा कृष्णराज सापकोटा, थापाथलीमा सरोज प्रजापति, त्रिपुरेश्वरमा इन्द्रजित इटानी, पुरानो बसपार्कमा बाबुकाजी गिरी र केशरमहलमा गोकर्ण नेपालको नेतृत्वमा प्रशिक्षण रहनेछ ।

त्यस्तै, सिंहदरबार क्षेत्रमा बेनप्रसाद श्रेष्ठ, गौशालामा धर्मेन्द्र रावल, महाराजगञ्जमा राजकुमार न्यौपाने, कालिमाटीमा प्रतित सिंह राठौर र जावलाखेलमा सिताराम हाछेथुले प्रशिक्षण दिने महाशाखाले जानकारी गराएको छ ।