कञ्चनपुर, असार ३१ । जनप्रतिनिधि आएपछि कञ्चनपुरको कृष्णपुर नगरपालिका – ४ बैलकुण्डीको मुहार नै परिवर्तन भएको छ ।
जनप्रतिनिधिको सहभागीतामा गाउँ जोड्ने एक मात्रै सडकको स्तरोन्नति भएपछि त्यहाँ बसोवास गर्दै आएका स्थानीय बासिन्दा निकै खुशी देखिन्छन् । वषांैदेखि अलपत्र अवस्थामा परेको सडक जनप्रतिनिधि आएपछि ग्राभेल गरी हिँडडुल गर्न, बिरामीलाई स्वास्थ्य चौकी पुर्याउन, बालबालिकालाई विद्यालय लैजान र गाउँमा उत्पादित कृषिउपज बजारसम्म पुर्याउन पाउँदा यहाँका बासिन्दा सन्तुष्ट छन् ।
यहाँका बासिन्दाहरु सडककै समस्याबाट ग्रसित थिए । गाउँमा एम्बुलेन्स नआउँदा यहाँका बासिन्दाले बिरामीलाई गोरु, गाडा र खटियामा बोकेर टाढाको स्वास्थ्य चौकीसम्म पुर्याउँदै आएका थिए । तर अहिले सडकको स्तरोन्नति भएपछि गाउँसम्मै एम्बुलेन्स पुग्न थालेको छ । बिरामीको उपचारमा सहजता हुन थालेको छ ।
पहिला बैलकुण्डीमा बस्ती छ, वा छैन, भन्नेसम्म स्थानीय निकायलाई थाहासम्म थिएन, स्थानीयवासी सीताराम चौधरीले भने– जनप्रतिनिधि आएपछि पिरमर्का सुन्न थालेका छन्, गाउँको विकासका लागि समन्वय गर्न थालेका छन् । आ–आफ्ना समस्या जनप्रतिनिधिसमक्ष राख्न थालेपछि सुनवाइ हुन थालेको उनको भनाइ छ ।
पूरै गाउँमा पूर्व मुक्तकमैया बस्दै आएका छन् । नगरपालिकामा जनप्रतिनिधि आएसँगै वर्षौदेखि बुझाउँदै आएको मालपोतबापतको रकम मिनाहा भएको छ । रामचरण रानाले भने, व्यावसायिक खेती गर्नका लागि उन्न बिउबिजन, किटनाशक र मल अनुदानमा पाइएको छ । बस्तीका सबै घरमा विद्युत् थिएन । हाल अधिकांश परिवारका घरमा विद्युत् पुगेको छ ।
विद्युत् नपुगेका घरमा विद्युत् पुर्याउनका लागि पोल गाड्ने कार्य भइरहेको छ । गाउँमा आधारभूत तहको कक्षा तीनसम्म पढाइ हुने एक मात्रै विद्यालय रहेको छ । तीन कक्षापछि पढ्नका लागि टाढाको विद्यालयमा बालबालिकालाई पुर्याउन अभिभावक आफैंले जानुपर्दछ बुद्धिराम चौधरीले भने, जंगलको बाटो भएकाले बालबालिकालाई एक्लै विद्यालय पठाउन सकिँदैन ।
नगरपालिकामा कक्षा ८ सम्म पढाइ हुने व्यवस्था मिलाइ दिन नगर प्रमुख समक्ष कुरा राखेका छौं । सकारात्मक जफाव पाएका छौं । खानेपानीका लागि गाडेका नल्कामा आर्सेनिक आउने हँुदा शुद्ध पानीका लागि कार्य अगाडि बढेको छ ।
सिँचाइका लागि दातृ निकायको सहयोगमा वर्षौ पहिले गाडेका बारिङमा पानी आउन बन्द भएको छ भागरथी रानाले भने, नगरपालिकाको वडा कार्यालयले यसका लागि कार्य अगाडि बढाएको छ, सिँचाइ सुविधा चाडै पुग्नेमा आशावादी छौं । यहाँका बासिन्दा दोदा नदीको छेउँमै बस्दै आएकाले नदीको बाढीले बस्तीलाई वर्षेनी डुबानमा पार्दै आएको छ ।
नदीको बाढीको पानी सुर्जा खोलामा चढेर बस्तीमा पुगेर डुबानमा पार्दै आएको छ । नदीले जग्गा कटान गर्दा यहाँका ६ घरपरिवार विस्थापित भइसकेका छन् । स्थानीय बासिन्दाले बाढी नियन्त्रण गर्नका लागि नगरपालिकालाई गुहारेका छन् ।
नगरपालिकाका नगर प्रमुख कर्णबहादुर हमालले नदी नियन्त्रणका लागि प्रभावकारी योजना सञ्चालन गर्ने जनाए । नदीका कारण स्थानीय बासिन्दालाई विस्थापित हुनबाट जोगाउनका लागि भरपर्दो तटबन्ध र अन्य विपद् प्रतिकार्यका कार्य अगाडि बढाइने उनले बताए ।
गाउँका केही परिवारले व्यावसायिक तरकारीखेती, केराखेती र उखुखेती गर्दै आए पनि अधिकांश परिवार ज्याला मजदूरी गरेर जीविका चलाउँदै आएका छन् । गाउँमा एक सय ६६ परिवारको बसोवास छ ।