आकस्मिक बाढीको सम्भावना रहेकाले पहाडी जिल्लामा सतर्कता अपनाउन अनुरोध

काठमाडौँ, असार ३१ । केही दिनदेखियता निरन्तर भइरहेको वर्षाका कारण देशका पहाडी जिल्लामा बाढीको सम्भावना देखिएकाले जल तथा मौसम विज्ञान विभागले सतर्कता अपनाउन आग्रह गरेको छ ।

विभागको बाढी पूर्वानुमान महाशाखाले आज एक विज्ञप्ति जारी गर्दै पहाडी जिल्लाबाट बग्ने नदीहरुमा आकस्मिक बाढीको सम्भावना रहेकाले नदी किनार र आसपासका बस्तीका मानिसहरुलाई सजग रहन अनुरोध गरेको हो ।

आज विशेष गरी दोलखा, रसुवा, धादिङ, गोरखा, सुर्खेत, रोल्पा, दार्चुला लगायतका केही पहाडी जिल्लाका स–साना नदीमा बाढीको सम्भावना रहेकाले सतर्कता अपनाउन अनुरोध गरिएको छ ।

कन्काई, कोशी, कमला बागमती, नारायणी, पश्चिम राप्ति, बबई, कर्णाली र महाकाली सबै मुख्य नदीमा बहावले सतर्कता पार गर्ने सम्भावना कम रहेको बाढी पूर्वानुमान शाखाले बताएको छ । भोलि (सोमबार) कन्काई, कोशी, कमला बागमती, नारायणी, पश्चिम राप्ति, बबई, कर्णाली र महाकाली सबै नदी जलाधारमा बहावले सतर्कता तह पार गर्ने सम्भावना रहेको छ ।

मंगरबार र बुधबार पनि कोशी, कमला, बागमती, नारायणी, पश्चिम राप्ति, बबई लगायतमा बहाव सामान्य बढ्ने र कर्णाली तथा महाकाली जलाधारमा बहावले सतर्कता तह पार गर्ने सम्भावना न्यून रहेको छ ।

आगामी तीन दिन देशैभर ठूलो बाढीको सम्भावना नदेखिए पनि आइतबार (आज), सोमबार र मंगलबार पहाडी क्षेत्रमा वर्षा हुने सम्भावना रहेकाले नदीमा बहाव उच्च नै हुने हुँदा नदी तटिय क्षेत्रमा सतर्कता अपनाइराख्नका लागि अनुरोध गरेको हो ।