शिक्षा क्षेत्रमा २० प्रतिशत बजेट छुट्याउने प्रतिबद्धता

जाजरकोट, असार १९ । हाल भएको स्थानीय तहको निर्वाचनबाट जाजरकोटमा सातवटै स्थानीय तहमा नवनिर्वाचित भएका जनप्रतिनिधिले शिक्षा क्षेत्रका लागि २० प्रतिशत बजेट छुट्याउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

जिल्ला शिक्षा कार्यालयले गरेको अन्तक्रिया कार्यक्रममा नगर प्रमुख, उपप्रमुख र गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र वडाध्यक्ष लगायतले आफ्नो जिल्लाको शिक्षा क्षेत्रको गुणस्तरमा सुधारका लागि लगानी बढाउने प्रतिबद्धता गरेका हुन् । उनीहरूले शिक्षालाई विकासको आधारको पहिलो प्राथमिकतामा राख्ने र २० प्रतिशत लगानी सुनिश्चित गर्ने, पाँचवर्षे जिल्ला शिक्षा योजनालाई कार्यान्वयन गर्दै जाजरकोटलाई शैक्षिक क्षेत्रमा गुणस्तरीय बनाउन पहल गर्ने र सार्वजनिक विद्यालयमा अध्यापनरत शिक्षकका छोराछोरीलाई सार्वजनिक विद्यालयमै पढाउन दबाब दिने भएका छन् । त्यस्तै, प्रत्येक गाउँ र नगरपालिकामा शैक्षिकसत्र ०७४ भित्र कम्तीमा एक नमुना विद्यालय निर्माण गर्ने, शैक्षिक अनियमितताविरुद्ध शून्य सहनशीलता नीति लिनेजस्ता प्रतिबद्धता गरेको जिल्ला शिक्षा अधिकारी ललितविक्रम सिंहले बताए ।

शैक्षिक गुणस्तरका लागि भौतिक संरचना, योग्य तथा दक्ष शिक्षक, अनुशासित र लगनशील विद्यार्थी, चेतनशील अभिभावक लगायतको उपलब्धता जरुरी भएको कालिका आदर्श माध्यमिक विद्यालय रुपन्देहीका प्रधानाध्यापक घनश्याम पाठकले बताए । निधारित समयमा शिक्षक र विद्यार्थी विद्यालयमा उपस्थित हुनु, पाठ्यपुस्तक समयमा उपलब्धता गराउनु, परीक्षा प्रणालीमा सुधार गर्नु, अस्थायी तथा करार शिक्षक नियुक्तिमा निष्पक्षता हुनु जरुरी रहेको उनले जानकारी दिए । नियमित अनुगमन तथा निरीक्षण गरी विद्यालयलाई राजनीतिक हस्तक्षेपबाट मुक्त राख्नुपर्ने उनले बताए ।