विद्युत् चुहावटमा कमी

लहान, साउन १ । विद्युत् चुहावट नियन्त्रण अभियान चलाएपछि सिरहाको लहान क्षेत्रमा आर्थिक वर्ष २०७४/७५ मा विद्युत चुहावटमा पाँच प्रतिशत कमी आएको छ ।

विद्युत् प्राधिकरण वितरण केन्द्र लहानले नियन्त्रणका लागि अभियान सञ्चालन गरेपछि चुहावट ३५ प्रतिशतमा पुगेको हो । विगत वर्षमा करीब ४० प्रतिशत विद्युत् चुहावट हुँदै आएकामा आव २०७४/७५ मा चुहावट घटेको विद्युत् प्राधिकरण वितरण केन्द्र लहानका प्रमुख विष्णुप्रसाद यादवले बताएका छन् ।

यस्तै, समयमा विद्युतको महसुल नबुझाउने ७१२ ग्राहकको विद्युत् लाइन चालु आवमा काटिएको यादवले बताए । विद्युतको बाँकी रहेको बक्यौता रकम समयमा नबुझाउने र पटक पटक विद्युत् महसुल समयमै बुझाउन अनुरोध गर्दासमेत बेवास्ता गर्ने ग्राहकको विद्युत् लाइन कटाइएको हो ।

विद्युत् लाइन काटिएका ५०५ ग्राहकबाट रु एक करोड ४७ लाख ४९ हजार बक्यौता रकम संकलन गरिएको यादवको भनाइ छ । त्यस्तै वितरण केन्द्र लहानले चालु आवमा हुकिङ गरी विद्युत् चोरी गर्ने ४०७ जनालाई पक्राउ गरी कारवाही गरेको बताएको छ ।

कारवाही गरिएकाबाट रु २८ लाख १६ हजार राजश्व संकलन हुनुका साथै उक्त क्रममा २७६ थान विद्युत् उपकरणसमेत बरामद गरिएको थियो ।