संविधान संशोधनका लागि सबै एकजुट हुनुपर्ने

काठमाडौँ, असार १९ । संविधान संशोधनका लागि सबै दलहरु एकजुट भएर लाग्नुपर्ने नेपाली काँग्रेसका नेता अर्जुननरसिंह केसीले बताएका छन् ।

रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको कार्यक्रममा बोल्दै नेता केसीले सरकारले चाहेर मात्र संविधान संशोधन गर्न नसक्ने भएकाले सबै दल एक हुनुको विकल्प नरहेको र संविधान कार्यान्वयनका लागि राष्ट्रिय एकता आवश्यक रहेको बताए । नेता केसीले पार्टीभित्रको आन्तरिक झगडाका कारण स्थानीय तहको निर्वाचनमा पार्टी दोस्रो हुन पुगेको विचार व्यक्त गर्दै निर्वाचनमा असहयोग गर्ने पार्टीका नेता, कार्यकर्तालाई कारबाही गर्नुपर्ने पनि बताए ।

कार्यक्रममा नेकपा (एमाले)का नेता रवीन्द्र अधिकारीले स्थानीय तहको निर्वाचनसँगै संविधान कार्यान्वयनमा नयाँ इँटा थपिएको बताए । उनले तेस्रो चरणको निर्वाचनको वातावरण बनाउनका लागि मधेस केन्द्रित दलले राखेका मागलाई मुख्य राजनीतिक दल बसेर सम्बोधन गर्नुपर्ने कुरामा जोड दिए । नेकपा (माओवादी केन्द्र)का नेता हरिबोल गजुरेलले मधेसका समस्या समाधान गर्न संविधान संशोधनका लागि सत्ता पक्षसँगै प्रतिपक्षी दल पनि गम्भीर भएर लाग्नुपर्ने बताए । उनले पार्टी विभाजनको असर स्थानीय तहको निर्वाचनमा परेको स्पष्ट पारे ।