डा केसी पक्ष र सरकारी टोलीबीच आज पुनः वार्ता हुँदै

काठमाडौं, साउन १ । डा गोविन्द केसी पक्ष र सरकारी वार्ता टोलीबीच आज फेरी वार्ता हुने भएको छ । सोमबार बसेको वार्ता बिनानिष्कर्ष नै सकिएपछि फेरी आज वार्ता हुन लागेको हो ।

हिजो बसेको वार्तामा पहिलो बुँदामै कुरा नमिलेपछि मंगलबार फेरी वार्ता बस्नेगरी रोकिएको थियो । शिक्षा मन्त्रालयमा भएको वार्तामा डा केसीले उठाएको प्रमुख माग चिकित्सा शिक्षा विधेयक अध्यादेश अनुसार नै आउनुपर्ने विषयमा छलफल केन्द्रित भएको थियो ।

वार्तामा डा केसी पक्षधरले संसदमा दर्ता भएको विधेयक फिर्ता लिएर अध्यादेश अनुसारको विधेयक दर्ता गराउनुपर्ने अडान लिएका थिए । सरकारी वार्ता टोलीले सो विषयको जानकारी शिक्षामन्त्री गिरिराजमणि पोखरेललाई गराएका थिए ।

मन्त्री पोखरेलले प्रधानमन्त्रीसँग सल्लाह गर्नुपर्ने बताएपछि वार्ता विनानिष्कर्ष सकिएको थियो । विधेयकका विषयमा प्रधानमन्त्रीसँग छलफल गरेपछि मात्र कुरा हुने भएपछि पुनः आज वार्ता हुने भएको डा केसीको पक्षबाट वार्तामा सहभागी डा अभिषेक सिंहले जनाएका छन् ।

सरकार अझै पनि गम्भीर देखिएको जस्तो नलागेको उनले बताए । डा केसीको मागमा वार्ता गर्न सोमबारको मन्त्रिपरिषद् बैठकले शिक्षा मन्त्रालयका सचिव खगराज बरालको नेतृत्वमा तीन सदस्यीय टोली गठन गरेको थियो ।

वार्तामा सरकारका तर्फबाट शिक्षा सचिव बराल, गृह मन्त्रालयका सहसचिव केदार न्यौपाने र स्वास्थ्य सेवा विभागका महानिर्देशक डा गुणराज लोहनी सहभागी थिए ।

डा केसीका तर्फबाट डा सिंह, वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारी, ओमप्रकाश अर्याल र नेपाल चिकित्सक संघका प्रतिनिधि सहभागी भएका थिए ।