जापानी राजदूत र सञ्चारमन्त्रीबीच भेटवार्ता

काठमाडौँ, साउन ३ । नेपालका लागि जापानी राजदूत मासामिची साइगो र सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाबीच आज सिंहदरबारमा भेटवार्ता भएको छ ।

मन्त्री बाँस्कोटाले उक्त अवसरमा दुई देशको आपसी सम्बन्ध सुमधुर र सन्तोषजनक रहेको भन्दै संघीय नेपालको केन्द्र, प्रदेश र स्थानीय तहमा सूचना र सञ्चार प्रविधिको व्यवस्थापनका लागि सहयोग गर्न जापान सरकारलाई अनुरोध गरे ।

उनले रेडियो नेपालको केन्द्रीय स्टुडियो बने जस्तै अन्य सञ्चार कार्यालयमा भूकम्प प्रतिरोधी भवन बनाउन सहयोग गर्न अनुरोध गरेका छन् ।

राजदूत साइगोले दुई देशबीच दौत्य सम्बन्ध कायम भएको सन् २०१६ मै ६० वर्ष पुगेको सन्दर्भमा आपसी सहयोग र थप सम्बन्ध विस्तारका लागि जापान तयार रहेको बताए ।