फोहर व्यवस्थापन हुन नसक्दा संक्रमण फैलन सक्ने खतरा

काठमाडौँ, साउन ४ । फोहर व्यवस्थापन गर्न नसक्दा काठमाडौँ महानगरपालिकाका विभिन्न चोक तथा बजार दुर्गन्धित बन्दै जान थालेका छन् ।

फोहोरको दुर्गन्धका कारण विभिन्न खालका रोगहरुको संक्रमण फैलन सक्ने खतरा बढेको छ । बल्खु, कुलेश्वर, कालीमाटी, कलंकी, टंकेश्वर, त्रिपुरेश्वर, बानेश्वर, शान्तिनगर, बागबजारलगायत स्थानमा करीब दुई सातादेखि घरबाट दैनिक निस्कने फोहर नउठेका कारण चोकचोकमा फोहरका उरुङ्ग लागेको छ ।

चोकमा थुपारिएका फोहर सडेगलेर निस्केको दुर्गन्धबाट पैदलयात्री, बटुवालगायतलाई मात्र समस्या नभएर नजिकैका सडक पसलेदेखि ठूला व्यवसायीलाई पनि मर्का परेको छ । फोहरलाई तत्काल व्यवस्थापन गर्न नसके हैजा, टाइफाइड तथा श्वासप्रश्वाससम्बन्धी रोगको संक्रमण फैलिन सक्ने चिकित्सकले जनाएका छन् ।

महानगरपालिकाले फोहर व्यवस्थापन गर्दै आएको सिसडोल र त्यस आसपास क्षेत्रमा वर्षाले सडक अवरुद्ध भएपछि समस्या उत्पन्न भएको छ ।

महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले सडकमा संकलन भएका फोहरलाई छिटो व्यवस्थापनका लागि प्रयास भइरहेको जनाउँदै सर्वसाधारण नागरिकले घरबाट निस्कने फोहरलाई अहिले सडकमा जथाभावी नमिल्काउन अनुरोध गरेका छन् ।

काठमाडौँमा मात्र दैनिक करीब ५०० मेट्रिक टन फोहर उत्पादन हुने गरेको महानगरपालिकाले बताएको छ ।