‘नेपालमै सबै उपचार सस्तो र गुणस्तरीय रुपमा जनताले पाउनुपर्छ’

काठमाडौँ, साउन ४ । जनतालाई देश बाहिर उपचार गर्न जानुपर्ने बाध्यताको अन्त्य गरिने उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले बताएका छन् ।

बिएण्डबी अस्पतालमा आज आयोजित एक कार्यक्रममा बोल्दै उनले स्वदेशमा रहेका सरकारी र निजी अस्पतालले जनतालाई सुविधासम्पन्न र गुणस्तरीय सेवा प्रवाह गराउनुपर्नेमा जोड दिए ।

नेपालमै सबै उपचार सस्तो र गुणस्तरीय रुपमा जनताले पाउनुपर्छ, निजी अस्पतालले पनि गुणस्तरीय सेवा सस्तो शुल्कमा प्रदान गरिनुपर्छ, त्यसका लागि राज्य सहकार्य गर्न तयार छ– उपप्रधानमन्त्री यादवले भने ।

उनले सरकारी र निजी क्षेत्र मिलेर मात्र नेपालको स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन सकिने विचार व्यक्त गरे । विपन्न नागरिक गुणस्तरीय सेवा पाउनबाट वञ्चित रहेकाले उनीहरुका लागि स्वास्थ्य सेवाको पहँुच पुर्याउनु दुवै क्षेत्रको दायित्व भएको उनको भनाइ छ ।

राज्यको ठूलो हिस्सा रकम उपचारात्मक क्षेत्रमै खर्च भएकाले अब रोग लाग्नै नदिनेतर्फ काम गर्नुपर्ने उपप्रधानमन्त्री यादवको जोड थियो ।

बिएण्डबी अस्पतालले आजदेखि मुटु तथा नसा रोगीको उपचारमा प्रयोग हुने क्याथल्याब सेवा शुरु गरेको छ ।