पानीको समस्या भएपछि मुहानमा पूजा

दाङ, साउन ६ । बर्षाको समयमा पनि पानी नपरेपछि खेतपाति गर्नका लागि समस्या भएको छ । पानी आउने समयमा पनि पानी नआएपछि दाङ्ग तुलसीपुरका किसानहरुले कुलोको मुहानमा पूजा गरेका हुन् ।

तुलसीपुर क्षेत्रको सात गाउँले कुलोबाट सिँचाइ हुने किसानले शनिबार सिँचाइ कुलोको मुहानमा गरे । तुलसीपुर उपमहानगरपालिका–३ को श्रीकुलामा पूजा गरेको सात गाउँले कुलो सिँचाइ आयोजनाका अध्यक्ष कुलप्रसाद कालाथोकीले बताए ।

उनले पानी नपरी खडेरीका कारण खेती गर्न नपाएको भन्दै पूजाआजा गरेमा देवता खुशी भई पानी पान्र्छिन् भन्ने जनविश्वासका कारण पूजा गरिएको जनाए ।

सयौँको संख्यामा कुलोको मुहानमा पूजा गर्न पुगेका किसानले कुखुरा र बोकासमेत काटेर बलिसमेत दिएका थिए । बर्षाको समयमा पनि पानी नपर्दा किसान निकै दुःखी बनेका छन् ।

पानीको समस्याकै कारणले गर्दा तुलसीपुरको हजारौं बिगाह जमीन बाँझै अवस्थामा छन् ।