काठमाडौँ, साउन ६ । हड्ताल–जुलुस गर्न सरकारले केही स्थान निषेधित क्षेत्र घोषणा गरेर जनताको शान्तिपूर्ण प्रदर्शन गर्न पाउने मौलिक अधिकार कुण्ठित गर्न खोजेको नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आरोप लगाएका छन् ।
३६औं बिपी स्मृति दिवसका अवसरमा काँग्रेस केन्द्रीय समितिले आज आयोजना गरेको कार्यक्रममा बोल्दै उनले संविधानप्रदत्त शान्तिपूर्ण प्रदर्शन गर्न पाउने अधिकार कुण्ठित गर्नु अप्रजातान्त्रिक र मानव अधिकार विरुद्ध भएको भन्दै कम्युनिष्टसँग मिल्नुहुँदैन भन्ने बिपीको विचार उपयुक्त भएको आफूले भर्खरै थाहा पाउन लागेको बताए ।
आमरण अनशनमा बसेका डा गोविन्द केसीले राखेका माग सम्बोधन गर्न आफ्नो नेतृत्वको तत्कालीन सरकारले माथेमा आयोगका भावना र मर्म अनुसार नै चिकित्सा शिक्षा अध्यादेश जारी गरेको भन्दै पूर्वप्रधानमन्त्री देउवाले उनले राखेका माग सम्बोधन गर्न तत्कालीन चिकित्सा शिक्षा अध्यादेश अनुसार नै विधेयक ल्याउनुपर्ने बताए ।
कार्यक्रममा पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलले बिपीका विचारबाट पार्टी विचलित नभएको भन्दै बिपीले परिकल्पना गरे अनुसार संविधानसभाबाट संविधान जारी भएको र ग्रामीण क्षेत्रको विकासका लागि २०४८ सालयता काँग्रेसले विभिन्न कार्यक्रम अगाडि सारेको बताए । ग्रामीण क्षेत्रमा पनि गुणस्तरीय चिकित्सा शिक्षा पुगोस् भन्ने प्रा डा केसीका माग उपेक्षा गरेर सरकार दमनमा उत्रिएको आरोप लगाएका छन् ।
काँग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले बिपीले देखाएको सिद्धान्त आत्मसात् गरे मात्र उहाँप्रति सच्चा श्रद्धाञ्जलि हुने बताए । उनले पार्टीभित्रका गुटउपगुटको अन्त्य गरी पार्टीलाई एक ढिक्का बनाउन नेतृत्वलाई सुझाएका छन् ।
पार्टी कोषाध्यक्ष सीतादेवी यादवले बिपीले देखाएको मार्ग र प्रजातन्त्रका लागि गरेका योगदान सबै काँग्रेसीहरुका मनमा भए पनि बाटो बिराएर पार्टीभित्र एकले अर्कालाई हराउने प्रवृत्ति अन्त्य हुनुपर्ने विचार व्यक्त गरिन् ।
काँग्रेस नेता गोपालमान श्रेष्ठले बिपीका सपना पूरा गर्न संविधानसभाबाट संविधान जारी गरी कार्यान्वयन गर्ने लगायत काम काँग्रेस नेृतत्वमै सफल भएको उनको भनाइ छ । पार्टी नेता डा रामशरण महतले बिपीले भनेझैँ काँग्रेसले मुलुकमा आर्थिक र सामाजिक क्षेत्रमा उल्लेख्य काम गरेको दावी गरे ।
कार्यक्रममा काँग्रेस मुख्य सचेतक बालकृष्ण खाँण, नेपाल महिला संघका अध्यक्ष उमा रेग्मी, काँग्रेस ललितपुरका सभापति मदन आमात्यलगायतले आगामी दिनमा काँग्रेसलाई सशक्त रुपले अघि बढाउनका लागि एक ढिक्का बनाएर लैजानुपर्ने बताए ।